नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको तीव्र मतभेदका बाबजुद आफूले कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन नदिने प्रतिवद्धता जनाएका छन्।
आइतबार नेपाली कांग्रेस संस्थापन इत्तर समूहले विराटनगरमा आयोजना गरेको कोसी प्रदेशस्तरीय एकता भेलालार्य सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसको जन्म नै देशमा लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराए।
उनले अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेको प्रति चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै गएको टिप्पणी गरे।
विनाकारण र स्पष्ट स्पष्टीकरण विना नै विभिन्न जिल्लाका वडा सभापतिहरूलाई पदबाट हटाइनु तथा सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु भएको उनको आरोप थियो।
नेता कोइरालाले मुलुकमा जबजब अप्ठ्यारो परिस्थिति आउँछ, तबतब जनताले कांग्रेसलाई नै सम्झिने गरेको उल्लेख गर्दै अहिलेको राष्ट्रिय आवश्यकता सहमति, सहकार्य र एकता नै भएको बताए। कांग्रेस लोकप्रियता (पपुलिजम) मा रमाउने पार्टी नभएको स्पष्ट पार्दै पार्टीका कतिपय नेताहरू विश्वव्यापी रूपमा चलेको सस्तो लोकप्रियताको पछि कुद्नु चिन्ताजनक रहेको औंल्याए।
पार्टी नेतृत्वप्रति संकेत गर्दै उनले आफू सुरुमा कुनै प्रस्ताव लेख्ने मनस्थितिमा नरहेको भए पनि परिस्थितिका कारण सभापति गगन थापालाई ५ बुँदे प्रस्ताव बुझाउन बाध्य भएको खुलासा गरे।
उक्त प्रस्तावमा १५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण र वितरण गरिसकेका सदस्यताकै आधारमा महाधिवेशन सुनिश्चित गर्ने, १४औँ महाधिवेशनका केन्द्रीय सदस्य र विशेष महाधिवेशनका प्रतिनिधिहरूलाई एउटै हैसियत प्रदान गर्ने, सभापतिको बहुमत हुने गरी समितिहरू गठन गर्ने र विभिन्न समितिहरू बनाउँदा आपसी समझदारीमा गर्ने विषय समेटिएको जानकारी दिए। यो सहमति भएको एक महिनाभन्दा बढी भइसक्दा पनि कार्यान्वयन नभएो भन्दै उनले नेतृत्वमाथि प्रश्न उठाए।
पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको दाबी गर्दै यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे।
वर्तमान सरकारले चाँडै नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेको सन्दर्भ जोड्दै उनले यो अवस्थामा कांग्रेस एकढिक्का हुन नसके लोकतन्त्र र राष्ट्रियता नै कमजोर हुने चेतावनी दिए। देशको राजनीतिक अवस्था असाध्यै जटिल मोडमा पुगेकाले संकुचित घेराभन्दा माथि उठेर सिङ्गो पार्टीलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू अविचलित रूपमा लागिरहने उनले प्रतिबद्धता जनाए।
Shares

प्रतिक्रिया