राजनीति


नक्कली पत्रबाट विदेशी नागरिकलाई अध्ययन भिसा जारी भएपछि शिक्षामन्त्रीले बनाए छानबिन समिति

नक्कली पत्रबाट विदेशी नागरिकलाई अध्ययन भिसा जारी भएपछि शिक्षामन्त्रीले बनाए छानबिन समिति

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १६:४१, काठमाडौँ

वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका लागि पेस भएका पत्र तथा कागजातहरू नक्कली रहेको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। 

मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन्। 

समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ। 

अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ।

मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ। 

यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको शिक्षा मन्त्रालयले जनाएको छ। 

वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट आठ विदेशी नागरिकलाई अध्ययन भिसा जारी गरिएको थियो। अध्यागमन विभागका अनुसार ६ चिनियाँ, एक जना कोरियन र एक जना रसियाका नागरिकहरूलाई नक्कली पत्रका आधारमा भिसा जारी गरिएको हो। 

वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी १० विदेशी नागरिकका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा कागजात पेस भएको र सोही आधारमा मन्त्रालयको जेठ २१ को निर्णयका आधारमा अध्यागमन विभागलाई भिसा सिफारिस भएको थियो। 

सोही सिफारिसका आधारमा आठ जनालाई भने यसअघि भिसा जारी गरिसकेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।उनका अनुसार थप दुई जनाको भिसा जारी गर्ने क्रममा शंका लागेपछि कागजात जाँच गर्दा पत्र नक्कली रहेको खुलेको थियो। 

यो पनि
वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट आठ विदेशी नागरिकलाई अध्ययन भिसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad