नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै प्रतिपक्षमा रहँदा बजेट चुहावट र अनियमितताको छानबिनको माग गर्नेहरू नै सत्तामा पुगेपछि मौन रहने गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन्। अर्थमन्त्री डा. वाग्लेले विगतमा बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्ने गरेको स्मरण गर्दै सत्तामा पुगेपछि आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु भन्ने गरेको टिप्पणी गरे।
उनले अर्थमन्त्री वाग्लेले म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ भनेर जवाफ दिनु राम्रो नभएको बताए। आफूमाथि प्रश्न उठेपछि अर्थमन्त्रीले तिमीले मेरो कुरा नगर, म पनि तिम्रो कुरा गर्दिन भनेर संसदबाटै भनेको बताए।
महामन्त्री पौडेलले भने, ‘हिजोसम्म बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्नेहरू नै फेरि अर्थमन्त्री हुनुभएको छ। आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु। म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ। त्यसैले हामी कुरा मिलाऔँ, तिम्रो कुरा म गर्दिनँ, मेरो कुरा तिमी नगर’ भन्ने प्रवृत्तिमा प्रश्तुत भइरहेको अवस्था देखिन्छ।’
उनले वर्तमान सरकार कमजोर होस्, काम गर्न नसकोस् त्यसपछि आफूहरुको पालो आउँछ भनेर नबसेको पनि स्पष्ट पारे। सरकारले आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति बनाउन नहुनेतर्फ सचेत गराए।
उनले भने, ‘हामी यो सरकार कमजोर होस्, यसले काम गर्न नसकोस्, अनि त्यसपछि हाम्रो पालो आओस् भनेर सोचिरहेका छैनौँ। आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति नबनोस्, यो व्यवस्था सुरक्षित रहोस्, र जनताले आफ्ना प्रतिनिधि छनोट गर्ने समावेशी व्यवस्था कसैले पनि भत्काउन नसकोस् भन्ने हाम्रो चाहना हो। तर परिस्थिति त्यस्तो बनिरहेको देखिँदैन।’
महामन्त्री पौडेलले नेताहरूले जनताका सामु गर्ने प्रतिवद्धता र सत्तामा पुगेपछिको कार्यशैलीबीच ठूलो खाडल रहेको भन्दै यसलाई सुधार्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया