नेपाली कांग्रेस सभापति गगन थापाले अस्पतालको सेवा नरोक्न र संवादबाटै समाधान खोज्न अपिल गरेका छन्।
सभापति थापाले मंगलबार सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै स्वास्थ्य सेवा बन्द गर्दा नागरिकले दुःख पाइरहेको उल्लेख गरेका छन्। ‘स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र बिरामीको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादबाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु,’ थापाले भनेका छन्।
पर्साको नारायण अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मंगलबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेका छन्।
यसलाई लिएर कांग्रेस सभापति थापाले ध्यानाकर्षण भएको जनाएका छन्। उनले यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन्।
‘विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दबाब र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेको छ। अतः यस घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गरियोस्,’ थापाले भनेका छन्, ‘वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।’
सभापति थापाले स्वास्थ्यकर्मीसँग अविलम्ब वार्ता गर्न पनि सरकारलाई आग्रह गरेका छन्। स्वास्थ्यकर्मीका पेशागत सुरक्षाका माग पूरा गर्न सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन्।
‘नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपीडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्,’ थापाले भनेका छन्।
Shares

प्रतिक्रिया