आम जनता पार्टी (आजपा) ले सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आजपा प्रवक्ता तिलक थापा मगरले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कप्तानगन्ज घटनामा मृत्यु भएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।
साउन १० गते राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज बजारमा दुई समुदायबीच विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागि स्थानीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। आजपले स्थानीय प्रहरी प्रशासनले समयमै सुरक्षा सतर्कता नअपनाएका कारण दुई पक्षीय झडपको स्थिति सिर्जना भएको जनाएको छ।
यो विवाद र झडपले धार्मिक तथा साम्प्रदायिक दंगाको रूप लिने खतरा बढेको र अन्य स्थानमा समेत फैलिन सक्ने भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ। स्थिति नियन्त्रण बाहिर जानु अगावै नेपाल सरकारलाई समयमै सचेत रहन, शान्ति सुरक्षा कायम गर्न र धार्मिक, साम्प्रदायिक एवं सामाजिक सद्भाव बचाउन जोडदार माग गरिएको छ।
आजपाले सरकारसँग घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, झडप र गोली लागेर घाइते भई उपचार गराइरहेका व्यक्तिलाई सरकारका तर्फबाट उचित सहयोगको व्यवस्था मिलाउन माग गरिएको छ।
Shares

प्रतिक्रिया