चिनियाँ आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम तथा परियोजना कार्यान्वयन कार्यान्वयनको अवस्था समीक्षा गरी सहजीकरण गर्न गठित नेपाल–चीन दुई देशीय संयन्त्रको बैठक काठमाडौंमा भएको छ।
बैठक दुवै पक्षको सहअध्यक्षतामा भएको थियो। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव अमृतबहादु राई र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने मन्त्रालय तथा विभागका कर्मचारी पनि सहभागी थिए।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकले चिनियाँ सहयोगमा हाल सञ्चालनमा रहेका कार्यक्रम र परियोजनाहरुको सुक्ष्म समीक्षा गरेको छ। प्रगतिबारे दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
‘तत्काल ध्यान दिनुपर्ने कार्यक्रम तथा आयोजनाहरुलाई समयमै पूरा गर्नेगरी अघि बढाउन ठोस कदम चाल्ने सहमति भएको छ’, बैठकपछि परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपालमा सञ्चालित चिनियाँ आयोजनाको नियमित समीक्षा गर्न र समस्या देखिएमा तिनको समाधानका लागि प्रक्रिया अघि बढाउन सन् २०१८ मा दुई पक्षीय संयन्त्र गठन भएको थियो। अहिले भएको यो तेस्रो बैठक हो।
Shares

प्रतिक्रिया