राजनीति


सुकुम्वासी, गरिब र निमुखा विरोधी पार्टी अहिले सरकारमा छ: राजेन्द्र पाण्डे

सुकुम्वासी, गरिब र निमुखा विरोधी पार्टी अहिले सरकारमा छ: राजेन्द्र पाण्डे

नेपालखबर
जेठ १६, २०८३ शनिबार १४:४२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डले सुकुम्वासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन्। 

शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा पाण्डेले वर्तमान सरकार गरिब, सुकुम्वासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाएका हुन्। ‘अहिले त हेर्ने हो भने सुकुम्वासी र गरिब, गरिब निमुखाको विरोधी पार्टी अहिले सरकारमा पुगेको देखिन्छ। त्यो अवस्था हामी व्यवहारबाट देखिरहेका छौँ,’ पाण्डेले भने।

उनले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दाबी गरे। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको उनको भनाइ थियो। 

‘सर्वोच्च अदालत जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, प्रधानमन्त्री निवास जल्यो। सारा अदालतदेखि लिएर प्रहरी कार्यालयहरू सबै जले, नेताहरूका घर खोजी खोजी जलाइयो, त्यो विध्वंशपछि संसदलाई विना कारण विघटन गरियो, भएको संसदलाई विघटन गरेर अर्को संसद जन्माउनतिर लागियो,’ उनले भने, ‘त्यसैमा एउटा खालको षड्यन्त्र थियो भनेर हामीले बुझ्न जरुरी छ। त्यो षड्यन्त्रपछि आएको सरकार तपाईं हामीले देखिरहेका छौँ, सिद्धान्त छैन, विचार छैन, कार्यक्रम छैन, लक्ष्य छैन।’

निर्वाचित संसदलाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्‍याउने काम भएको उनको भनाइ छ। त्यसैले अहिलेको सरकारलाई विगतका उपलब्धिको माया नभएको पाण्डेले जिकिर गरे। 

‘उनीहरूलाई यो आन्दोलन, हामीले रगत बगाएको, लडेको, दुःख गरेको, भूमिगत बसेको, अप्ठ्यारो भोगेको, जनयुद्ध, जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन। त्यस्तो शक्ति आज राष्ट्रको मुल ठाउँमा छ,’ पाण्डेले भने।

अहिलेका उपलब्धिको रक्षा गर्न पनि त्यसका लागि लडेका दलका नेता तथा कार्यकर्ताले लाग्नुपर्ने उनको भनाइ थियो। ‘हामी लामो लडाईं लड्यौँ, निरंकुश पञ्चायतलाई फ्याँक्यौँ। राजालाई संविधानभित्र बाँध्या थियौँ, निहुँ खोज्न आयो, त्यो राजालाई पनि बिदा गर्‍यौँ,’ उनले भने, ‘सारा गरेर लडेर ल्याउने हामी, जसले पञ्चायत फ्याँक्नमा पनि कुनै योगदान दिएको छैन, राजतन्त्रको विरुद्ध पनि लडेको छैन, कुनै योजना, कुनै भूमिका छैन, त्यो आज अहिले देशको प्रधानमन्त्री, मन्त्री, संसद् सबै ठाउँमा जिम्मा लिएर बसेको छ।’

उनले कम्युनिस्ट शक्तिहरूलाई पुनः संघर्षका लागि तयार हुन आह्वान गरे। कार्यकर्तालाई विगतको आत्मसमीक्षा गर्दै पुनः संगठित हुन आह्वान गरे। ‘त्यसैले कमरेडहरू हामी एकचोटी गम्भीरतापूर्वक फेरि धुलो टक्टक्याएर उठौँ, माटो समातेर कसम खाऔँ, कि हिजोको भन्दा अझ राम्रो पार्टी हामी निर्माण गरेर जान सक्छौँ, गरौँ, रगत बगाऔँ, दुःख गरौँ भनेर एकचोटी फेरि कसियौँ।’

उनले पार्टी एकता केन्द्रीय तहका नेताबीचमा भए पनि तल्लो तहका कार्यकर्ताबीच हुन नसकेको बताए। उनले पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादीको विचारबाट माथि उठ्न कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad