राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।
राप्रपा स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्ने बताए।
‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। यो अत्यन्तै महत्त्वको छ। यसले धेरै कुराहरूको उजागर गरेको छ। यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्छ,’ लिङ्देनले भने।
मानव अधिकार आयोगको प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्रसंघ र त्यसमा आवद्ध संघ संस्थाको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाइका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने उनको भनाइ थियो।
‘अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो सफाइ लिनुपर्छ,’ उनले थपे, ‘यो गम्भीर विषय हो। किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन। यो प्रतिवेदन त यूएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्रसंघ सम्बन्धित संघ, संस्थाहरूसँग रेकडेट हुनेछ।’
प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने उनले बताए। उनले विगतका घटनाको उदाहरण दिँदै आयोगको प्रतिवेदनमा अभियोग लगाइएका व्यक्तिले विदेश जाँदा अप्ठ्यारो पर्नेसक्ने तर्फ सचेत गराएका छन्।
‘यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरूले मानव अधिकार उलंघनमा दोषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरू समेत छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘त्यसकारण यो अत्यन्तै गम्भिर विषय भएको हुनाले दोषीहरूले सफाइ लिने र सरकारले यसमा एउटा प्रक्रिया पूरा गर्ने दिशामा जानुपर्छ। यो प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ।’
Shares

प्रतिक्रिया