राजनीति


अधिकारकर्मीको खबरदारी- सरकार, लोकतन्त्र विरोधीको लौरो नबन

अधिकारकर्मीको खबरदारी- सरकार, लोकतन्त्र विरोधीको लौरो नबन

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १२:२८, काठमाडौँ

गणतन्त्र दिवसको अवसर पारेर अधिकारकर्मीले प्रदर्शन गरेका छन्। उनीहरू लोकतन्त्र विरोधीको लौरो नबन्न सरकारलाई खबरदारी गरेका छन्। 

शुक्रबार मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा काठमाडौँमा प्रदर्शन गरिएको हो। गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ। 

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गलाई खबरदारी गरेको हो। प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन्। 

२०७२/७३ सालको समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनीतिक संकट पुनः दोहोरिन नदिन राज्यका अङ्गहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिइन्। सभापति पौडेलले शान्ति समाजको यो अभियान सरकारलाई कमजोर बनाउन नभई थप सशक्त र जनमुखी बनाउन लक्षित रहेको स्पष्ट पारिन्। 

विगत तीन दशकदेखि स्वयंसेवी रूपमा क्रियाशील शान्ति समाजले समसामयिक राजनीतिक र सामाजिक अवस्थाको विश्लेषण गरी खबरदारी गर्दै आएको उनले स्मरण गराइन्। सरकारले घोषणा गरेको १०० दिने शासकीय सुधारको कार्ययोजनाको चर्चा गर्दै पौडेलले गत भदौ २४ गतेको हिंसात्मक घटनाका सन्दर्भमा छानबिन समिति गठन गर्न ढिलाइ गरेकोमा आपत्ति जनाइन्। 

सरकारले आफ्नै प्रतिबद्धता अनुसार सात दिनभित्र समिति गठन गर्ने भने पनि दुई महिना बितिसक्दा समेत कुनै पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ। 

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनका सन्दर्भमा टिप्पणी गर्दै सभापति पौडेलले आयोग एउटा स्वतन्त्र संवैधानिक निकाय भए पनि आफ्नो पूर्ण अधिकार प्रयोग गर्न चुकेको बताइन्। आयोगले आफैँ कारबाहीको सिफारिस गर्नुको सट्टा सरकारलाई मात्र सिफारिस गर्नुले यसको प्रभावकारितामा प्रश्न उठेको उनले बताइन्। 

समाजमा घृणा फैलाउने अभिव्यक्ति मानवता विरुद्धको अपराध भएको ठहर गर्दै पौडेलले सामाजिक सद्भाव खल्बल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन्। यस्तै, सुकुम्बासी बस्ती व्यवस्थापनका सन्दर्भमा सरकारले उचित वर्गीकरण र पुनर्स्थापनाको प्याकेज ल्याउनुको सट्टा सिधै विस्थापन गर्न खोजेकोमा उनले आलोचना गरिन्। 

सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा केही सकारात्मक प्रयासहरू सुरु गरे पनि धेरै महत्त्वपूर्ण मुद्दामा चुकेको सभापति पौडेलको विश्लेषण छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad