राजनीति


मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन र कार्कीमाथि सूक्ष्म अनुसन्धान गर: कांग्रेस

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन र कार्कीमाथि सूक्ष्म अनुसन्धान गर: कांग्रेस

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १४:५१, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा गरिएका सिफारिसबारे नेपाली कांग्रेसले सरकारको धारणा माग गरेको छ। 

कांग्रेसले प्रतिवेदनबारे धारणा सार्वजनिक गर्दै आयोगको सिफारिसबारे सरकारले आफ्नो जवाफदेहिता अंगीकार गरेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले बिहीबार जारी गरेको विज्ञप्तिमा विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपूर्ण तथा सीमित अनुसन्धानलाई मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको जनाएको छ। स्वयं आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएकाले सरकारले यस सम्बन्धमा तत्काल अनुसन्धान सुरु गर्नुपर्ने कांग्रेसको भनाइ छ।

यस्तै जेनजी आन्दोलनमा भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनाहरूमा आयोगले किटान गरेका सांसद, व्यक्ति वा निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन पनि कांग्रेसले भनेको छ।

‘हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि कानुनको दृष्टिमा पक्षपातपूर्ण व्यवहार नहोस्। यसमा सरकारी प्रभाव र राजनीतिक दबाबमुक्त गराइयोस्,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका तथा घाइते नागरिकका परिवारलाई न्याय, उचित राहत र पुनर्स्थापनाको समुचित प्रबन्ध गर्न, निजी क्षेत्रमा पुर्‍याइएको हानि-नोक्सानीलाई राज्यले अभिभावकत्व देखाई बिमा भए बिमा वा सो नभए राज्यद्वारा उचित क्षतिपूर्ति दिने प्रबन्ध र्गन र सुरक्षा निकायलाई आधुनिक, प्रभावकारी र मानव अधिकारमैत्री बनाउन आवश्यक पुनरावलोकन एवं सुधार गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले स्वयं जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि दोष देखाएको र उनीमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेकाले कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुने नदिएको कांग्रेसले जनाएको छ। ‘कार्की आयोगको प्रतिवेदन आम चुनाव हुनुपूर्व सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको हाम्रो शंकालाई बल पुर्‍याएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad