सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई एक हप्ताभित्र संसद्मा आउने जानकारी गराएको छ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन्। भरखरै यस विषयमा प्रधानमन्त्रीको सचिवालयसँग कुराकानी गरेको उनले सुनाए।
‘प्रधानमन्त्रीज्यूको सचिवालय पनि कुराकानी गरेँ,’ बुर्लाकोटीले प्रतिनिधि सभाको बैठकमा भने, ‘प्रधानमन्त्रीज्यू संसद्मा आउनुहुन्छ। सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा सदनलाई जानकारी गराउँन चाहन्छु, सभामुखमार्फत।’
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गर्नुपर्ने बताउँदै विपक्षीले विरोध गरेका थिए। विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका थिए।
बैठक स्थगित भएकै बेला आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुराकानी गरेको बुर्लाकोटीले बताएका हुन्। प्रधानमन्त्री शाह संसद्मा आउने रास्वपाले प्रतिबद्धता जनाएपछि प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको छ।
Shares

प्रतिक्रिया