राजनीति


देउवा–कोइराला पक्षलाई गगनको ‘अन्तिम’ प्रस्ताव : २ वरिष्ठ नेता, ३ पदाधिकारी र ९० केन्द्रीय सदस्य

देउवा–कोइराला पक्षलाई गगनको ‘अन्तिम’ प्रस्ताव : २ वरिष्ठ नेता, ३ पदाधिकारी र ९० केन्द्रीय सदस्य

लोकेन्द्र भट्ट
जेठ १०, २०८३ आइतबार १९:३५, काठमाडौँ

कांग्रेस सभापति गगन थापाले पार्टीको आन्तरिक विवाद मिलाउन अन्तिम प्रयास थालेका छन्। पार्टीका सांगठनिक गतिविधि र संस्थापन इतर पक्षसँगको संवाद एक साथ अगाडि बढाएका थापाले विवाद समाधानको निर्णायक तयारी थालेका हुन्।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर अभ्यास जारी राख्दा सभापति थापा दबाबमा छन्। कांग्रेसलाई काउन्टर दिँदै देउवा पक्षले सातै प्रदेशमा समानान्तर भेला गरिराखेको छ। प्रदेशस्तरीय भेलामार्फत नेतृत्वलाई दबाब र नयाँ पार्टी गठनको रणनीतिक विकल्पमा देउवा पक्ष उत्रिएपछि सभापति थापाले संवादको पहल थालेका हुन्। उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग यही साता संवाद गर्दै छन्।

देउवा पक्ष नयाँ पार्टी गठन गर्ने तहसम्म पुगे पनि डा शेखर कोइराला कांग्रेसमै रहने संस्थापन पक्षको विश्वास छ। 

‘गगनजी र शेखर दाइसँग संवाद भइरहेको छ। उहाँलाई मिलाएर लैजान खासै समस्या छैन। उहाँका अधिकांश मान्छे विशेष महाधिवेशन र मनोनीत गरी आइसक्नुभएको छ। उहाँ ढिलोचाँडो आउनुहुन्छ,’ एक दाधिकारीले भने। 

खड्कासँग भने जेठ १६ मा निर्णायक भेटवार्ता गर्ने सभापति थापाको तयारी छ।

‘वैशाख १६ मा पूर्ण दाइसँग निर्णायक संवाद गर्नुहुन्छ। सकेसम्म मिलाउने भन्ने छ। भएन भने उहाँहरूलाई आफ्नो ढंगले हिँड्न दिनुपर्छ भन्ने छ,’ उनी भन्छन्। 

विशेष महाधिवेशनबाट पारित नयाँ विधानमा २२७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्थाले विवाद मिलाउन सहज हुने संस्थापन पक्षको बुझाइ छ। 

कांग्रेसमा ८ जना सहमहामन्त्री रहँदै आएकोमा विशेष महाधिवेशनबाट तीन जना सहमहामन्त्री थप हुने व्यवस्था गरिएको छ। विधान संशोधन गरेर १४ सदस्यीय पदाधिकारीलाई १७ सदस्यीय बनाइएको छ। विशेष महाधिवेशनबाट १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो भने सभापति थापाले जेठ २ मा १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पदेन सदस्यका रूपमा रहेका छन्। केन्द्रीय समितिमा अहिले १५४ जना सदस्य छन्। सभापति थापाले ७३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कोषाध्यक्षमा देउवा पक्षका उमेश श्रेष्ठ मनोनीत भइसकेका छ भने संस्थापन इतरबाट तीन जनालाई सहमहामन्त्रीमा मनोनीत गर्न सभापति थापा तयार छन्। 

यस्तै मनोनीत गर्न बाँकी ७३ केन्द्रीय सदस्यमा देउवा र कोइराला पक्षका गरी ६० जनालाई केन्द्रीय समितिमा ल्याउन सभापति थापा सकारात्मक छन्। निवर्तमान कार्यवाहक सभापति खड्कालाई वरिष्ठ नेता बनाउने र सार्वजनिक प्रश्न नउठेका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउन सकिने थापाको प्रस्ताव छ। 

महामन्त्री प्रदीप पौडेलले वरिष्ठ नेताको जिम्मेवारीमा आउन खड्का र कोइरालालाई प्रस्ताव गरेका थिए। वरिष्ठ नेताको हैसियत स्वीकार गरेर आउँदा खड्का र कोइरालाले सभापति थापापछिको वरीयता पाउने छन्।

कांग्रेसमा पूर्वपदाधिकारीलाई वर्तमान पदाधिकारीपछि राखिने अभ्यास छ। पछिल्लो मनोनीतमा पनि उक्त अभ्यास गरिएको देखिन्छ। खड्का र कोइरालासँग सूची मागेर केन्द्रीय सदस्य मनोनप्त गर्ने पक्षमा सभापति थापा छैनन्। 

‘भागबण्डाको सन्देश जाने गरी सहमति हुँदैन। पूर्ण दाइ र शेखर दाइ वरिष्ठ नेता बन्न तयार हुनुभयो भनेर उहाँहरू निकट निवर्तमान केन्द्रीय सदस्यलाई सबै कुरा हेरेर केन्द्रीय सदस्यमा ल्याउन सभापति तयार हुनुहुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘मुद्दा मामिला खेपिराख्नु भएको बाहेक सबैजसो निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यलाई समेट्न सकिन्छ भन्ने छ।’

कोइराला पक्षबाट निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेताहरू डा मिनेन्द्र रिजाल, बलबहादुर केसी, सञ्जय गौतम, सरिता प्रसाईं, दिपक गिरी, किरण यादव लगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने थापाको तयारी छ। सहकारीको बचत हिनामिनाको आरोप खेपिरहेका निवर्तमान उपसभापति धनराज गुरुङलाई भने केन्द्रीय सदस्यमा मनोनीत नगर्ने संस्थापन पक्षका नेताहरू बताउँछन्। 

निवर्तमान केन्द्रीय कार्यसमितिका ५० जनाभन्दा बढी केन्द्रीय सदस्य वर्तमान केन्द्रीय कार्यसमितिमा छन्। सभापति थापाको प्रस्तावमा कोइराला लचक देखिएका छन्। कोइरालाले सभापति थापासँग आफ्नो राजनीतिक व्यवस्थापनमा चासो राखेको संस्थापन पक्षका नेताहरू बताउँछन्। 

‘उहाँले सभापतिसँग कुरा गर्न खोज्नुभएको छ,’ एक पदाधिकारीले भने, ‘आफ्नो राजनीतिक व्यवस्थापन के हुन्छ भन्ने छ। अहिले उहाँहरूलाई कुनै पद दिने अवस्था छैन। पार्टी सरकारमा पनि छैन। अर्को निर्वाचनअघि यो पदमा व्यवस्थापन हुन्छ भन्ने अवस्था पनि छैन। पार्टी बलियो बनेर जाँदा भोलि सबैको उचित व्यवस्थापन हुन्छ।’

१४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति अहिलेको कार्यसमितिमा मर्ज गर्नुपर्ने खड्का र कोइरालाको अडान छ। तर, कार्यसमिति मर्ज गर्दा कुनै पनि बेला आफू अल्पमतमा पर्ने भय सभापति थापामा छ। १४ औँ महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमिति हुबहु मर्ज गर्दा सदस्य संख्या ३०१ हुन पुग्छ। कोइरालाले थापालाई केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नो बहुमत राखेर जाँदा समस्या नहुने सुझाएका थिए। तर, सभापति थापा कार्यसमिति हुबहु मर्ज गर्ने पक्षमा छैनन्।

सभापति थापा विवाद समाधानमा केही लचक देखिए पनि उपसभापति विश्वप्रकाश शर्माका कारण सहमति जुट्न नसकेको संस्थापन इतर पक्षको बुझाइ छ। 

‘मैले कुरा राख्दा गगनजी ठीक हो दाइ, त्यसरी नै जाने भन्नुहुन्छ,’ खड्काले आफू निकटस्थलाई सुनाएका छन्, ‘अन्तिममा विश्व दाइसँग कुरा गर्छु भनेर गगनजीले निष्कर्ष दिइराख्नुभएको छैन। पार्टी एकतामा विश्वजीले अवरोध गरेको हो कि भन्ने मेरो बुझाइ छ।’ 

विशेष महाधिवेशन रोक्न भएको सहमति पनि शर्माकै कारण भाँडिएको देउवा पक्षका नेताहरूको आरोप छ।

अहिले पनि सभापति थापाभन्दा शर्मा पार्टीमा एकताको बाधक बनेको देउवा पक्षको बुझाइ छ। आफू पक्षीय नेताहरूले उपसभापति शर्मासँग व्यक्तिगत डिल गर्न थालेपछि देउवा पक्ष आक्रोशित देखिन्छ। शर्मानिकट नेताहरूका अनुसार संसदीय दलदेखि प्रदेशमा मुख्यमन्त्रीको विषयसम्म उपसभापति शर्मा हाबी देखिँदा देउवा पक्ष सशंकित छ।

‘देउवा समूहका धेरै नेताहरू विश्व दाइसँग व्यक्तिगत रूपमा संवादमा हुनुहुन्छ। समूहगत डिल नहुँदै सबै नेताहरू विश्व दाइसँग पुग्ने भए भन्ने कुराले उहाँहरू आक्रोशित देखिनु भएको होला,’ शर्मानिकट एक पदाधिकारीले भने, ‘भागबण्डा र गुटबन्दी बन्द गराउने गरी विश्व दाइ अगाडि बढ्नु भएको छ। त्यो उहाँहरूलाई हजम भइरहेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad