लुम्बिनी


कार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौँ : लुम्बिनीका आर्थिक माामिला मन्त्री

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौँ : लुम्बिनीका आर्थिक माामिला मन्त्री

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:४८, बुटवल

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आइतबार बसेको पाँचौँ बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरुले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गरे।

उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए । कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।

मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए।

बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए। विशेष समयमा प्रदेशसभा सदस्य बैजनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिनाकुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी/कुर्मी, सुरुल पुन तथा बसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राखेका थिए।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफल समाप्त भएको घोषणा गरे। प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad