नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेपछि अब उनको आगामी कदम के हुन्छ भन्नेमा एमाले पंक्तिको चासो छ। कतिपयले उनलाई अब एमालेको दोस्रो वरीयता दिइने अड्कल पनि गरिरहेका छन्।
तथापि, सोमबारको सचिवालय बैठकमा पेस गरिएको वरीयता निर्धारण सम्बन्धी प्रस्तावमा उनको नाम समावेश छैन। शुक्रबार बस्ने सचिवालय बैठकले सो वरीयता पारित गर्दैछ। जसअनुसार अध्यक्ष ओलीपछि उपाध्यक्ष रामबहादुर थापा दोस्रो नम्बरमा छन्। यस्तै विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त क्रमशः तेस्रो, चौथौ, पाँचौँ र छैटौँ वरीयतामा छन।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई क्रमशः छन्। सचिवहरूमा छविलाल विश्वकर्माको नाम पहिलो नम्बरमा राख्दा पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलाई अन्तिममा राखिएको छ।
नवीकरण भइसकेको सदस्यता ११ महिना रोकेको एमालेले जेठ ४ गते भण्डारी सदस्यता दिने निर्णय गरेको थियो।
बहुमत सचिवालय सदस्यले आफ्नो राजीनामा माग्दै अप्ठेरोमा पार्न थालेपछि ओलीले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएको पार्टीका नेताहरू बताउँछन्। अब भण्डारीलाई जिम्मेवारी समेत दिने तयारी छ।
पार्टी सदस्यता पाइसकेपछि भण्डारी बाँकी पदका लागि पनि योग्य भइसकेको एमाले सचिव भानुभक्त ढकालले बताए।
‘उहाँको थप व्यवस्थापनको विषयमा छलफल हुँदै जान्छ। सक्रिय राजनीति गर्ने भनेर उहाँले दिएको निवेदनलाई स्वीकार गरेपछि अधिकार प्रयोग गर्ने कुरा स्वाभाविकै भइहाल्यो,’ उनले भने, ‘बाँकी जिम्मेवारीका लागि कुन विधि, कहिले, कुन मोडालिटीमा भन्ने निर्णय गर्न बाँकी नै छ। पार्टीमा अरु विषय र अहिलेको परिस्थितिको बारेमा पनि निर्क्यौल गर्नै बाँकी छ हामीले। यी जम्मै कुरा गरेर पार्टीलाई व्यवस्थित गरेर यसरी जाऊँ भन्ने कुरा फाइनल भइसकेपछि व्यक्तिगत भूमिका त्यसपछि आउने कुरा हो।’
यद्यपि, ८ गतेको बैठकमा भण्डारीको जिम्मेवारी तोक्ने निर्णय भइहाल्ने सम्भावना न्यून रहेको उनी बताउँछन्।
‘किनभने हाम्रा कतिपय वैधानिक सीमाहरू छन्। ती वैधानिक व्यवस्था, सीमाहरूलाई ख्याल गरेर विधि अन्तर्गत हामी चल्नुपर्छ। विधि फुकाउने हुँदा पनि साँघुरो दायराभन्दा गर्न सकिनेसम्म ठूलो दायराबाटै गर्नु राम्रो हुन्छ। हुन त गरेर अनुमोदनमा जाने प्रक्रियाहरू पनि छन्, तथापि अहिले के बितिहालेको छ र? हेरौँ नेतृत्वले कसरी सोचेको छ? के कुरा भएको छ।’
तर, भण्डारीको चाहना पार्टी पुनर्गठन गर्नेमा छ। उनी आफैँ नेतृत्व लिएर एमाले हाँक्न चाहन्छिन्। त्यसका लागि उनले सचिवालय बैठकमा केही पदाधिकारीको प्रस्तुति कुरिररहेकी छन्।
अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले मोर्चाबन्दी गरेका छन्। भण्डारी यी दुई नेताको आगामी कदम हेरिरहेकी छन्।
‘परिआए पार्टीको नेतृत्व गर्नुहुन्छ। नपरे पार्टी सदस्य भएर बस्नुहुन्छ,’ भण्डारीका विश्वासपात्र एक नेताले नेपालखबरसँग भने, ‘अर्काेले नेतृत्व गर्छ भने पनि उहाँको सहयोग रहन्छ। तर, उहाँ एक नम्बर भए बस्नुहुन्छ। दुई नम्बर भएर बस्नुहुन्न।’
यसबाहेक भण्डारीले अर्काे विकल्प अघि सारेकी छैनन्। उनले आफू निकटसँग पनि सोही कुरा बताएकी छन्।
‘परिआए नेतृत्व गर्छु नभए सिनियर पार्टी सदस्य भएर बस्छु,’ सदस्यता नवीकरण गरेपछि भेट्न पुगेकासँग भण्डारीले भनिन्, ‘आवश्यक पर्दा केही अवधिका लागि र आन्दोलन बचाउनको निम्ति मेरो भूमिका हुन्छ भने त्यो निर्वाह गर्न म तयार छु। तर, त्यो भूमिका कसैको पछाडि बसेर निर्वाह गर्ने होइन। अगाडि नै बसेर गर्छु।’
सचिवालयका अरु नेता कसरी प्रस्तुत हुन्छन्, त्यस अनुसार अगाडिको बाटो तय गर्ने मुडमा उनी रहेको ती नेताले बताए।
‘विष्णु र शंकरले ओलीको विरोध पार्टी पुनर्गठनकै लागि गरेको हो? हो भने अब त खुलेर आउनु पर्यो नि। पार्टी पुनर्गठन खोजेको हो कि आफूलाई चाहिएको भनेको हो? उहाँहरूले आफूलाई केन्द्रमा राखेर केपी ओलीको विरोध गरिरहनुभएको छ कि आन्दोलनलाई केन्द्र भागमा राखेर गरिराख्नुभएको हो, भोलिको बैठकमा देखिन्छ,’ ती नेताले थपे, ‘उहाँहरूबाट विद्यालाई प्रस्ताव आयो भने पार्टी र आन्दोलन जोगाउन खोजिएको भन्ने मेसेज आम कार्यकर्तासम्म पुग्छ।’
एमालेका सचिव राजन भट्टराई भण्डारीको सदस्यताको विषयमा धेरै बहस गर्नु नपर्ने बताए।
‘उहाँ २०३७ सालदेखि कम्युनिस्ट आन्दोलनमा सामेल हुँदै आउनुभएको नेतृ हो। उपाध्यक्ष हुनुभयो। राष्ट्रपति हुन जाँदा जिम्मेवारी छोड्नुपर्थ्यो, छाड्नुभयो, अहिले सदस्यता माग गर्नुभयो पार्टीले दियो,’ उनले भने।
फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा एमालेले नराम्रो पराजय भोगेको छ। अध्यक्षको रणनीति असफल भएको भन्दै पार्टीलाई नयाँ गति दिन उनले राजीनामा दिनुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य छन्।
सचिवालय बैठकमा अब ओलीको राजीनामा माग हुन्छ कि हुँदैन, त्यसमै भण्डारीको मुख्य ध्यान देखिन्छ। आफूविरुद्ध अभिव्यक्ति दिने र हटाउन खोज्ने नेताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कारबाहीको चेतावनी दिइसकेका छन्।
Shares

प्रतिक्रिया