राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताएकी हुन्।
उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन्।
प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन्।
उनले भनिन्,‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक, आर्थिक यथार्थहरु कस्ता छन्? त्यता ध्यान पुर्याऔँ। आज राज्यको राजस्व दबाबमा छ। युवाहरू विदेश पलायन भईराखेको छन्। कृषि उत्पादन घटदो छ। प्राईभेट सेक्टर त्रसित छ। सार्वजनिक ऋणको भार बढिरहेका छन्। पूँजीगत खर्च अत्यन्त कमजोर छ। स्थानीय तहमा सेवा प्रवाह असमान छ।’
उनले थपिन्, ‘यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरि पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ्।’
प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने पनि बताइन्।

प्रतिक्रिया