ad ad

राजनीति


वामदेव गौतमकाे दाबी : छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने प्रस्ताव मैले नै राखेको हो

वामदेव गौतमकाे दाबी : छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने प्रस्ताव मैले नै राखेको हो

नेपालखबर
जेठ ७, २०७७ बुधबार ३:२४,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अतिक्रमित भूमि समेटेर नयाँ नक्शा प्रकाशित गर्न आफूले नै पार्टीमा प्रस्ताव गरेको बताएका छन्।

‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु,’ गौतमले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् सो धारणा सार्वजनिक गरेका छन्, ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु।’

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको उनले बताएका छन्।

सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको उनको भनाई छ।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ,’ गौतमले भनेका छन्।

ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेकोमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति प्रशंसा पनि गरेका छन्।

सो नक्शा जारी गर्ने घोषणासँगै प्रधानमन्त्री ओली र भूमि सुधार मन्त्री पद्मा अर्यालको धेरैले प्रशंसा सुरु गरिरहेका बेला गौतमले यस निर्णयमा आफ्नो योगदान रहेको दाबी गरेका हुन्।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर नयाँ नक्शा स्वीकृत गरेको थियो।

मंगलबार प्रधानमन्त्री ओलीले संसदमा संवोधन गर्दै सो भूमि प्राप्त गरिछाड्ने अठोटका साथ नक्शा स्वीकृत गरेको बताएका थिए।

गौतमले नेकपा–एमाले विभाजन गरी नेकपा–माले पार्टी गठन गर्दा उनले भारतसँग गरिएको महाकाली सन्धी र सीमा अतिक्रमणकाे बिराेधलाई पार्टीको मुख्य मुद्दा नै बनाएका थिए।

पछि पार्टीले संसदमा कुनै सिट जित्न नसकेपछि उनले सो पार्टीलाई पुनः एमालेमा गाभेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .