प्रतिनिधि सभाको बैठक बुधबार फेरि १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित गरेका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने कार्यसूची तय गरिएको थियो। त्यहीअनुसार, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल होस् भन्ने प्रस्ताव टेबुल गरेका थिए।
तर, विपक्षी दलले भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले नै उत्तर दिनुपर्ने अडान लिएका छन्। उनीहरू प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।
आजै बिहान ११ बजे बसेको बैठकमा सांसदहरूले बोलेका थिए। त्यसपछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिन प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने विपक्षी दलले माग गरेका थिए।
विपक्षीले विरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो पटक अपराह्न ३ बजे बैठक सुरु भएको थियो। फेरि विपक्षी दलका सांसदले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो।
Shares

प्रतिक्रिया