राजनीति


सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न

सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:५०, काठमाडौँ

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन नभएकोमा प्रश्न उठाइएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले गुरुङमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भन्दै प्रश्न उठाएका हुन्।

‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो?,’ उनको प्रश्न छ, ‘तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु।’ 

त्यसैगरी सम्पत्ति छानबिनको सन्दर्भमा २०४७ देखि २०५९ सालका सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन उनले माग गरेका छन्। ‘सम्पत्ति छानबिन गर्न छानबिन गर्न आयोग बनाउनु भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। तर २०४७ देखि २०५९ सम्मको छानबिन गरेको लम्साल आयोगको प्रतिवदेनलाई कार्यान्वयनमा अगाडि बढाउन केले छेकेको छ र? प्रतिवेदनहरू बनाउने तर पहिलेजस्तै दराजमा थन्क्याउने हो भने अहिलेको डंका पिटाइएको कुनै अर्थ रहने छैन,’ आङदेम्बेले भने। 

यस्तै उनले लोकतन्त्र बन्द कोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको पनि स्मरण गराए। ‘जनताप्रति जवाफदेही हुनु र उत्तरदायी बन्नु अनि जनतासँग खुलस्त संवाद गर्नु एउटा लोकतान्त्रिक सरकारको र नेताको प्राथमिक कर्तव्य हो,’ उनले भने, ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो। विश्वास, सहमति र सहभागिता यसका आत्मा हुन्।’

प्रधानमन्त्री बालेन्द्र शाहप्रति इंगित गर्दै आङदेम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे। ‘अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ। नसुनिने संवेदनहीन शैली संसद्‌मा लोकतन्त्र र यसको खुला बहस अनुकूल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद् लागि राखेको पनि छैन,’ उनले भने। 

संसद् असामान्य परम्परासहित सुरु भएको कांग्रेसको ठम्याइ रहेको उनको भनाइ छ। आह्वान भइसकेको संसद् एकाएक स्थगन गरेर संसद्को मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई सरकारले खोसेको उनले बताए। 

साथै करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुनहरु अध्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोतान्त्रिक मूल्यहरूमा चोट पुर्‍याएको आङदेम्बको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad