प्रतिनिधिसभा सदस्य प्रेम आलेले विजयप्रकाश मिश्रमाथि कारबाही गर्न माग गरेका छन्।
मिश्रले सांसद आलेलगायतका व्यक्तिबाट आफू असुरक्षित रहेको भन्दै प्रशासन गुहारेको भोलिपल्ट आलेले आफ्नो चरित्र हत्या गरिएको भन्दै मिश्रमाथि कारबाही गर्न माग गरेका हुन्।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका आलेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मिश्रले आफू समेतको नाम जोडेर जेठ ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जीउधनको सुरक्षा गरी पाउँ भन्दै आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार एवं कपोकल्पित रुपमा चरित्र हत्या गर्ने उदेश्य तथा आफ्नो प्रतिष्ठामा आँच पु्र्याउन निवेदन दिएको बताएका छन्।
आलेले लेखेका छन्, ‘सार्वजनिक लेखा समितिको बैठकमा जनताको प्रतिनिधि तथा समितिको सदस्यका हैसियतले सुरक्षा मुद्रण मेसिनको विषयमा सम्बन्धित रहेर गरेको प्रश्नलाई उनले चर्काचर्की भनेर अपवाह फैलाउन खोजेको समेत देखिन्छ। निजसँग मेरो कुनै सरोकार, सम्पर्क तथा सम्बन्ध नभएको समेत जानकारी गराउँदछु।’
मिश्रले सोमबार सांसदत्रय आलेसहित पूर्वमन्त्री गोकुल बासकोटा र सुर्य पाठक समेतबाट आफु असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका थिए।
सुरक्षाण मुद्रण मेसिन खरिदमा मिश्रसँग ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए। सोही विषयलाई लिएर बास्कोटा, आले र पाठकसहितका व्यक्तिबाट आफू असुरक्षित भएको भन्दै मिश्र प्रशासन पुगेका हुन्।
प्रतिक्रिया