राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै छलफलका लागि उपलब्ध गराइएको समय पर्याप्त नभएको बताएकी छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्यान्वयन पक्ष नै मुख्य चुनौती र महत्वपूर्ण विषय भएको औंल्याएकी हुन्।
प्रमुख सचेतक ओलीले नीति तथा कार्यक्रम सुन्दा सधैँ सकारात्मक र उत्कृष्ट लाग्ने भएपनि त्यसको सफल कार्यान्वयन नै वास्तविक उपलब्धि हुने धारणा व्यक्त गरिन्। वर्तमान सरकारसँग दुई तिहाइ निकटको बहुमत रहेकाले यस पटक नीति तथा कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुनेमा उनले आशा व्यक्त गरिन्।
यद्यपि, कार्यान्वयनको पक्ष कस्तो रहन्छ भन्ने विषयमा शङ्काको लाभ दिँदै नतिजा पर्खिनुको विकल्प नभएको उनको तर्क छ।
संसदीय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ओलीले नीति तथा कार्यक्रम प्रस्तुत भएकै दिन छलफल टुङ्ग्याएर पारित गर्ने तयारी गरिएकोमा आपत्ति प्रकट गरिन्।
उनले भनिन्, ‘विगतमा नीति तथा कार्यक्रममाथि छलफलका लागि पाँच दिनसम्मको समय उपलब्ध गराइने प्रचलन थियो। नीति तथा कार्यक्रम सत्ता पक्ष र प्रतिपक्ष दुवैका लागि उत्तिकै महत्त्वपूर्ण विषय हो। तर छलफलको समय सङ्कुचित गरिँदा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका मुद्दा सदनमा सशक्त रूपमा राख्न पाउने अधिकार कुण्ठित भएको छ।’
सांसदहरूले सदनमा राख्ने विचार र हुने बहसकै आधारमा आगामी योजनाहरू परिमार्जित र तय हुने उल्लेख गर्दै उनले पर्याप्त बहस बिना कार्यक्रम पारित गरिनु न्यायसङ्गत नहुने बताइन्।
ओलीले सभामुखमार्फत छलफलको समय बढाउन र पर्याप्त समय उपलब्ध गराउन निरन्तर ध्यानाकर्षण गराइरहेको समेत जानकारी दिइन्।
Shares

प्रतिक्रिया