परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भुमिका अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लूए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै खनालले अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि-सम्झौतामा मात्र सिमित नरहेको बताए। ‘आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ। यस्तो अवस्थामा एनसीडब्लूएजस्ता स्वतन्त्र र गैर-राजनीतिक थिंक ट्याङ्कको भुमिका अझै महत्त्वपूर्ण भएको छ,’ उनले भने।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कूटनीतिक प्राथमिकता रहेको बताए।
‘अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि-सम्झौतामा मात्र सिमित छैन, यो नागरिकको दैनिक जीवनसँग जोडिएको छ,’ खनालले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू हाम्रा कूटनीतिक प्राथमिकता हुन्।’
मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको उल्लेख गरे। परराष्ट्रमन्त्री खनालले औपचारिक कूटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लूएले पुलको काम गर्नुपर्नेमा जोड दिए।
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कूटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले बताए। उनले एनसीडब्लूए जर्नलको नयाँ अङ्क विमोचन गर्दै यसमा समेटिएका गहन लेखहरूले नीति निर्माताहरूलाई विश्वव्यापी भू-राजनीतिक परिवर्तनहरू बुझ्न र उचित निर्णय लिन बौद्धिक आधार प्रदान गर्ने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया