सर्वोच्च अदालतले व्यवसायी शुलभ अग्रवाल र दिपक भट्टलाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। गैरकानुनी थुनामा राखेकाले रिहा गर्न आदेश माग गर्दै दुवै जना सर्वोच्च अदालत पुगेका थिए।
अग्रवालको तर्फबाट उनका बुवा शंकरलाल अग्रवालले वैशाख ११ गते र भट्टको तर्फबाट उनकी पत्नी आयुष्मा नेपालले वैशाख १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा दुवै जनालाई गैरकानुनी थुनामा राखेकाले रिहा गर्न परमादेश माग गरिएको थियो।
त्यसमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले दुवै जनाको तर्फबाट दायर रिट खारेज गरेको छ।
यसअघि बुधबार नै विशेष अदालतले अग्रवाल र भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अग्रवालको हकमा छैटौँ पटक र भट्टको हकमा पाँचौँ पटक हिरासतमा राख्न अदालतले म्याद थप गरेको हो।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया