राजनीति


‘संसदमा म’मा नरेन्द्र केरुङ : ब्रिटिस लाहुरे छाडेर सांसद, एक पैसा खर्च नगरी चुनावमा जित (भिडिओ)


अनिल यादव
बैशाख २१ , काठमाडौँ

पाँचथरको उकाली–ओराली, गाउँ–बस्ती र विद्यालयका कक्षाकोठामा देखिने नरेन्द्रकुमार केरुङको परिचय हिजोआज फेरिएको छ। लामो समय शिक्षण पेसा र जिल्लाको राजनीतिमा भिजेका केरुङ अहिले देशको सर्वोच्च नीति निर्माण तह संसदमा पुगेका छन् र प्रतिनिधि सभामा पाँचथरको आवाज बनेर उभिएका छन्। 

नेपालखबरको ‘संसदमा म’ कार्यक्रममा आइपुगेका उनले आफ्नो बाल्यकालदेखि हालसम्मको राजनीतिक यात्रा, चुनावी अनुभव र आगामी ससंदीय योजनाबारे खुलेर सुनाए। 

केरुङको राजनीतिक यात्रा २०४५ सालबाट सुरु भएको हो। झापाको दमक क्याम्पसमा आईकम पढ्दै गर्दा उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए। त्यतिबेला देशमा जनआन्दोलनको तयारी हुँदै थियो। तर, स्वास्थ्यका कारण तराईको गर्मीमा बस्न कठिन भएपछि उनी गृहजिल्ला पाँचथर फर्किए।

‘दमक क्याम्पसमा आईकम पहिलो वर्ष पढ्दा दोस्रो सेक्सनबाट नेविसंघको सदस्यता लिएँ। पछि स्वास्थ्यका कारण बुबाले फिदिम लगे र त्यहाँबाट मेरो नेविसंघको जिल्ला सह–सचिवको यात्रा सुरु भयो,’ केरुङ सम्झन्छन्। 

केरुङको जीवनमा राजनीति मात्र होइन, जागिरे यात्रा पनि उत्तिकै रोचक छ। २०५० सालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरी उनले केही वर्ष शिक्षण गरे। पछि स्नातकोत्तर अध्ययनका लागि काठमाडौँको कीर्तिपुर आए। अध्ययन सकिएलगत्तै पाँचथर क्याम्पसमा पढाउने प्रस्ताव आएपछि उनी पुनः जिल्ला फर्किए र कांग्रेसको सक्रिय राजनीतिमा जोडिए।

पढाइमा अब्बल केरुङलाई जागिरका अन्य अवसरहरूले पनि पछ्याएका थिए। उनले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को परीक्षा दिए। ब्रिटिस आर्मी (लाहुरे) मा त भिडेनन् मात्रै, छनोट पनि भए। तर, त्यो पेसामा उनको मन रमाउन सकेन। 

उनी भन्छन्, ‘ब्याचलर सकेपछि लाहुरे भिडेँ, पास पनि भएँ। तर त्यहाँको म्यानर र मेरो स्वभाव नमिल्ने देखेपछि छाडिदिएँ। मलाई जागिरभन्दा पनि राजनीतिले बढी तानिरह्यो।’

केरुङको परिवारको कांग्रेससँग पुरानो साइनो छ। २०१५ सालदेखि नै उनको परिवार राजनीतिमा सक्रिय थियो। उनका ठूलोबुबा अर्काप्रसाद केरुङलाई तत्कालीन शाही सेनाले यातना दिएर हत्या गरेको थियो। बुबा पनि २०३६ सालको जनमत संग्रहमा युवा नेताका रूपमा सक्रिय थिए।

‘मेरो पारिवारिक पृष्ठभूमि नै नेपाली कांग्रेससँग जोडिएको छ। प्रजातन्त्रका लागि ठूलोबुबाले सहादत प्राप्त गर्नुभयो, बुबाले गाउँको विकास र संगठनमा जीवन खर्चनुभयो। त्यही वातावरणले मलाई पार्टीको एउटा सिपाही बन्न प्रेरित गर्‍यो,’ उनी गर्वसाथ सुनाउँछन्।

केरुङले संसदसम्म आइपुग्न धेरै हन्डर र ठक्कर खाएका छन्। २०७० सालको संविधान सभा चुनावमा थोरै मतले पराजित भए। २०७४ सालमा प्रदेश सभामा पनि उनी सफल हुन सकेनन्। तर, हारले उनलाई विचलित बनाएन, बरु अझ बढी परिपक्व बनायो। उनले ११ वर्ष जिल्ला सभापतिका रूपमा पार्टीको नेतृत्व गरे।

२०७९ को निर्वाचनमा भने उनले नयाँ शैली अपनाए।
 
भन्छन्, ‘यसपटक २३५ वटा स्पटमा भेटघाट कार्यक्रम गर्‍यौँ। माइक नसमाई, भाषण नगरी, घरदैलो र साना समूहमा छलफल गरेर चुनाव लड्यौँ। यो एउटा रोचक अनुभव रह्यो।’

केरुङको अनुभवमा पहिलेका चुनावमा उम्मेदवारले विकासका मागले भरिएका मोटा डायरी बोक्नुपर्ने अवस्था थियो, तर यसपटक मतदाताको चेतना फेरिएको पाए। 

‘अहिले स्थानीय सरकारले बाटो, बिजुली जस्ता काम गर्न थालेकाले मतदाताले हामीसँग नीति निर्माण र देशको प्रणाली सुधार्ने कुरा बढी मागे,’ उनले भने। 

नेपालको संसदीय चुनाव खर्चिलो हुँदै गएको गुनासो आइरहँदा आफूले भने पाँचथरमा एउटा मानक स्थापित गर्ने प्रयास गरेको उनी बताउँछन्। धेरै पैसा नभए पनि चुनाव जित्न सकिन्छ भन्ने कुरा पुष्टि गरेर देखाएको उनको दाबी छ। उनको चुनावी अभियानमा शुभचिन्तकहरूले १ हजार रुपैयाँ रकमदेखि विभिन्न हिसाबले सहयोग गरेका थिए।

‘यसपटक एक पैसा पनि खर्च नगरी साथीभाइ र शुभचिन्तकहरूको सहयोगमा चुनाव लड्यौँ,’ उनले भने, ‘बुथ खर्चदेखि मतदाता ओसारपसारसम्म सबै गाउँले र कार्यकर्ता आफैँले व्यवस्थापन गरे। यो मेरा लागि ठूलो आशीर्वाद थियो।’

सांसदका रूपमा शपथ लिँदै गर्दा केरुङका आँखामा ती कार्यकर्ता र जनताको अनुहार नाचिरह्यो, जो उनलाई जिताउन भोकै–तिर्खै खटिएका थिए। उनीहरूको विश्वासलाई न्याय गर्नु नै आफ्नो मुख्य दायित्व भएको उनी बताउँछन्। 

संसदमा उनका प्राथमिकता स्पष्ट छन्– सुशासन, भ्रष्टाचार नियन्त्रण र झन्झटिलो प्रशासनिक सेवाको अन्त्य। 

उनले आफ्नै उदाहरण दिँदै भने, ‘मैले पाँच वर्षअघि ट्रायल पास गरेको लाइसेन्सको कार्ड अझै गोजीमा परेको छैन। राहदानी लिन ३५–४५ दिन कुर्नुपर्छ। एउटा सामान्य उपभोक्ता समितिले सानो योजनाको भुक्तानी लिन महिनौँ झन्झट बेहोर्नुपर्छ। यी विसंगति हटाउनु मेरो मुख्य लक्ष्य हो।’

यसपटकको संसदमा शीर्ष नेताहरूको अनुपस्थितिलाई उनले अवसर र चुनौती दुवैका रूपमा लिएका छन्। 

‘शीर्ष नेताहरूको अभावमा विचार र अध्ययनका माध्यमबाट हामी युवाहरूले संसदको गरिमा जोगाउनुपर्नेछ। हामी अध्ययन, जिज्ञासा र समर्पणका साथ मुलुकको समृद्धिका लागि खट्नेछौँ,’ उनी प्रतिबद्ध सुनिए। 

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट : 

फोटो/भिडिओ : सरोज नेपाल
 
 

बैशाख २१, २०८३ सोमबार १६:५४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad