राजनीति


ललितपुर महागनरमा सुकुमबासी समस्या छैन: चिरिबाबु महर्जन

ललितपुर महागनरमा सुकुमबासी समस्या छैन: चिरिबाबु महर्जन

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १२:१३, काठमाडौँ

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगर क्षेत्रमा सुकुम्बासी समस्या नरहेको बताएका छन्। 

शुक्रबार २५७०औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालयको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू नेतृत्वमा आएपछि सार्वजनिक जग्गाको अतिक्रमण सहज रुपमा समाधान गरेको बताए। ‘ललितपुर महानगरपालिकामा सुकुम्बासी समस्या नरहेको र उपलब्ध नदी किनारका क्षेत्रमा पार्कहरू निर्माण भइसकेको छ,’ महर्जनले भने। 

सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन नदी किनारमा ‘बुद्ध पार्क’ बनाउन उनले सुझाए। ‘छिमेकी महानगर र नगरपालिकाका लागि यो एउटा उत्तम विकल्प हुनसक्छ,’ उनले भने। 

आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणको कार्य पूर्ण भएको बताए। मेयर महर्जनले आफ्नो पहिलो कार्यकालमा ललितपुरका विहार, बही, चैत्य र मन्दिरहरूको पुनर्निर्माण तथा जीर्णोल्वारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै ती कार्यहरू हाल सम्पन्न भइसकेको उल्लेख गरे। 

सम्पदा संरक्षणको सन्दर्भमा पूर्व मेयर स्वर्गीय बुद्धराज बज्राचार्यको योगदानको चर्चा गर्दै महर्जनले पुनर्निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने भारत र जापान सरकारप्रति आभार प्रकट गरे। मूर्त सम्पदाका साथै अमूर्त सम्पदाको जगेर्नाका लागि महानगरले बुद्ध जयन्ती समारोह समिति र हरेक चार वर्षमा हुने ‘महासम्यक’ पर्व सञ्चालनार्थ ‘अक्षय कोष’को व्यवस्था गरी आर्थिक स्थायित्व प्रदान गरेको जानकारी समेत दिए। 

नदी किनारका सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन नदी किनारका खाली क्षेत्रमा बुद्धका मूर्तिसहितका आकर्षक पार्क निर्माण गर्नसके त्यसको उचित व्यवस्थापन हुने र भविष्यमा पुनः हुन सक्ने अतिक्रमणलाई रोक्न सकिने आग्रह गरे। ‘मैलेअघि सारेका योजनाअनुसार महानगरका अधिकांश बौद्ध सम्पदाको पुनरुत्थान भइसकेको छ। यदि कतै कुनै कार्य बाँकी रहेको भए मलाई जानकारी गराउनुहुन म सम्बन्धित सबैमा आग्रह गर्दछु,’ उनले भने। 

मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान रहेकाले यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad