पचास दिन लामो रस्साकस्सीपछि नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन भएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गरेको हो।
कांग्रेसमा २०६४ यता पहिलो पटक सर्वसम्मत रुपमा संसदीय दलको नेता चुनिएका हुन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएको संसदको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयनमा गरेको ढिलासुस्तीप्रति पार्टीभित्र र बाहिर समेत प्रश्न उठ्न थालेको थियो। दलको नेतामा आङ्देम्बेका साथै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, मोहन आचार्य, बासना थापा, निस्कल राई लगायतको दाबी थियो।
पार्टीको सबै पक्षको साथ समर्थन जुटाउन केसीलाई समय दिँदा नयाँ संसदको पहिलो अधिवेशनमा दलको नेता चयन गर्न कांग्रेस असफल भयो। चैत १९ गतेबाट सुरु भएको संसदको पहिलो अधिवेशन चैत २७ गते अन्त्य भएको थियो। सभामुख चयन नभएसम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा सभाको अध्यक्षता गरिराखेका केसीकै लागि कांग्रेसले दलको नेता चयनको प्रक्रिया अगाडि बढाएको थियो। केसीले संसदको पहिलो बैठकको अध्यक्षता गर्दा सांसद भीष्मराज आङ्दम्बेले दलको तर्फबाट सम्बोधन गरेका थिए।
चैत २२ गते सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि केसी सभाध्यक्षको जिम्मेवारीबाट अलग भएर दलको नेताको कसरतमा लागे। केसीका नाममा सहमति नहुने छाँट देखिएपछि कांग्रेसमा निर्वाचन प्रक्रिया अगाडि बढेको थियो।
सहमहामन्त्री प्रकाश रसाइली नेतृत्वको निर्वाचन समितिले वैशाख ११ मा निर्वाचन कार्यतालिका पनि ल्याएको थियो। वैशाख ११ मा कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले सर्वसम्मत रुपमा दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम स्थगित गरेर उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता समिति बनाएको थियो।
शर्मा नेतृत्वको समितिले दलको नेताका आकांक्षीसँग पटक–पटक छलफल गरेर आइतबार आङ्देम्बेको नाममा सहमति जुटाएका थियो। सोमबार बिहान सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले आङ्देम्बेको नाम पेस गरेका थिए। उक्त बैठकले आङ्देम्बेको नाम सर्वसम्मत अनुमोदन गरेपछि सिंहदरबार बसेको दलको बैठकले निर्णय लिएको थियो।
दलको बैठकमा सभापति थापाले दलको नेता चयनको पत्र आङ्देम्बेलाई थमाएका थिए। यद्यपि, कांग्रेस सभापति थापा प्रत्यक्ष निर्वाचित सांसदलाई नै दलको नेता बनाउन चाहन्थे। दलको नेताको दाबीबाट ब्याक हुँदा केसीले पनि आङ्देम्बेलाई रोक्न नयाँ प्रस्ताव अगाडि सारेका थिए।
संसदीय दलको नेतामा दैलेख–१ बाट निर्वाचित सांसद बासना थापालाई अघि सार्न पार्टी पदाधिकारीहरुलाई केसीको सुझाव थियो। दलको नेतामा सर्वसम्मति खोज्न आफूसँग छलफल गर्न आएका पदाधिकारी टोलीलाई युवा, नयाँ अनुहार, महिला र दुर्गम क्षेत्रबाट प्रत्यक्ष निर्वाचित थापालाई दलको नेता बनाउन उपयुक्त हुने उनको तर्क थियो। तर, उपसभापति शर्माले आङ्देम्बेलाई दलको नेता बनाउन उपयुक्त हुने बलियो दाबी पेस गरेपछि सभापति थापा ब्याक भए।
विश्वप्रकाशलाई भीष्मराजको गुन
उपसभापति शर्माले आङ्देम्बेलाई दलको नेता बनाउनुको पछाडि विगतको गुन र पार्टीभित्र पकड कायम राख्ने उदेश्य मुख्य कारक देखिन्छ। शर्माले गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सभापति थापालाई निसर्त समर्थन गरेर गत फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीका रुपमा अगाडि सारेका थिए। निर्वाचन परिणाम कांग्रेसको प्रतिकूल आए पनि पार्टी सत्तामा गगन बलशाली नै छन्।
निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिएर सभापति थापाले पदबाट दिएको राजीनामा उपसभापति शर्माको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको थियो। कांग्रेस नेतृत्वमा फर्किएका थापाले दलको नेतामा शर्माको लाइन पारित गरिदिए। कांग्रेसका शीर्ष नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौलालाई साइजमा राखेर उपसभापति शर्मा कोसी प्रदेशमा सांगठिक पकड बलियो बनाउने रणनीतिमा देखिन्छन्।
कांग्रेसले समानुपातिकतर्फ २० जना सांसद छान्दा ८ जना कोसी प्रदेशका छन्। पाँचथरका आङ्देम्बेलाई दलको नेता बनाएर उपसभापति शर्माले कोसी प्रदेशमा शक्ति केन्द्रित गरेका छन्। यता विगतदेखि नै उपसभापति शर्मा र आङ्देम्बेको सम्बन्ध समधुर देखिन्छ। शर्माको राजनीतिक टर्निङ प्वइन्टमा आङ्देम्बेको निर्णायक साथ छ।
२०४८ मा सम्पन्न नेपाल विद्यार्थी संघ (नेविसंघ)को छैटौँ महाधिवेशनमा अध्यक्षका लागि एनपी साउद र स्वर्गीय नविन्द्रराज जोशीको प्यानल आमनेसामने थियो। आङ्देम्बे तत्कालीन मेची अञ्चलबाट उपसभापतिको उम्मेदवार थिए भने शर्मा केन्द्रीय सदस्यका उम्मेदवार। आङ्देम्बेका प्रतिस्पर्धी उमेशजंग रायमाझी भने शर्माका सुरेन्द्र तिमिल्सिना। सुरेन्द्र कांग्रेसको राजनीतिको केन्द्रमा स्थापित हुन नसके पनि गत फागुन २१ को प्रतिनिधि सभाको चुनावमा काठमाडौँ-४ बाट उनका छोरा सचिन तिमिल्सिना उम्मेदवार थिए।
तत्कालीन समयमा आङ्देम्बे र तिमिल्सिना दुवै पाँचथरका बासिन्दा थिए। तर, साउद प्यानलका आङ्देम्बेले केन्द्रीय सदस्यमा साउद प्यानलका शर्मालाई खुलेर सहयोग गरे। त्यसको चाल पाएपछि जोसी प्यानलका तिमिल्सिना आन्तरिक रुपमा रायमाझीको पक्षमा उभिए। मेची अञ्चलका दुवै प्यानलसँग शर्मा समदुरीमा थिए।
उमेरले २० आसपासका शर्मालाई त्यतिबेला दुवै पक्षले प्रेमभावले हेर्थे। रायमाझी र आङ्देम्बेको भोट प्राप्त गरेपछि तिमिल्सिनालाई एक मतले हराएर नेविसंघको केन्द्रीय समितिमा शर्माको प्रवेश भयो। तिमिल्सिनाको मत नपाएका आङ्देम्बे एक मतले नै उपसभापतिमा हारेको कांग्रेस वृत्तमा अहिले पनि चर्चा हुन्छ।
त्यो हारपछि नेविसंघको राजनीतिमा आङ्देम्बे किनारा लागे भने शर्र्मा नेविसंघको सभापतिसम्म बन्ने सफल भए। पार्टी राजनीतिमा पनि शर्मा र आङ्देम्बेको तालमेल जारी थियो। कांग्रेस केन्द्रीय कार्यसमितिमा शर्माभन्दा पहिला पुगेका आङ्देम्बे पार्टी पदाधिकारीमा पछाडि परे। २०७८ मा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट शर्मा महामन्त्री बन्दा आङ्देम्बे आदिवासी जनजातितर्फ सह–महामन्त्रीमा निर्वाचित भए।
प्रकाशमान सिंहको प्यानलबाट शर्माले महामन्त्रीमा बाजी मार्दा आङ्देम्बे शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका थिए। तत्कालीन समयमा कांग्रेस नेता बालकृष्ण खाणसँग निकट मानिने आङ्देम्बेले आन्तरिक रुपमा महामन्त्रीमा शर्मालाई सहयोग गरेको कांग्रेस नेताहरु बताउँछन्। विशेष महाधिवेशनबाट उपसभापति बनेर दिने ठाउँमा पुगेका शर्माले दलको नेता चयन गरेर आङ्देम्बेले विगतमा लगाएको गुन तिरेको देखिन्छ।
को हुन् आङ्देम्बे?
२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ (साविक नवमीडाँडा)मा जन्मेका आङदेम्बेको उदय विद्यार्थी राजनीतिबाट भएका देखिन्छ। उनले पाँचथरको फिदिम माध्यमिक विद्यालयको प्रार्थना लाइनमा टाउकोमा कालो रुमाल बाँधेर पञ्चायती शासनविरुद्ध विद्रोहको सन्देश दिएका थिए। उनी २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिए। २०४२ सालमा कांग्रेस नेताहरू सत्याग्रह बस्दा उनी ९ महिना जेल परेका थिए। त्यसपछि पटकपटक गरी डेढ वर्ष जेल बसेका उनको राजनीतिक जीवन संघर्षपूर्ण छ।
२०४२ तिरै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएएका उनले २०४६ सालको जनआन्दोलनमा नेविसंघ केन्द्रीय सदस्यको रूपमा पूर्वाञ्चलको कमान्ड सम्हालेका थिए।
पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को कांग्रेस सभापति भएका उनी २०५१ सालतिर नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष भए। नेविसंघ र तरुण दलमा संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेलेका उनी यही अवधिमा नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए।
२०४९ को स्थानीय निकायको निर्वाचनमा आङ्देम्बे जिल्ला विकास समितिको सदस्य भए। २०५६ सालदेखि उनले क्षेत्र नम्बर २ बाट संसदीय निर्वाचन लड्दा पराजित भए। एमालेका डम्बरसिंह सम्बाहाम्फेसँग उनी पराजित भएका थिए।
२०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्त्रविरुद्ध सक्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए। सो क्रममा पनि उनी पक्राउ परे।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए। संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो।
संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्मेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हाले।
भीष्मले कांग्रेसको आदिवासी जनजाति विभाग र केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी पनि सम्हालेका थिए। कांग्रेसको सह–महामन्त्रीमा निर्वाचित भएर उनी पार्टीको शीर्ष नेतृत्वमा पुगे। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दा पुनः एमालेका वसन्तकुमार नेम्बाङसँग ४६ मतको झिनो अन्तरले पराजित भएका उनी यसपटक आदिवासी जनजाति कोटाबाट समानुपातिकबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगे।
आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए।
लिम्बू समुदायबाट पहिलो मन्त्री बन्ने अवसर देउमानले पाएका थिए। सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीष्मराज आङदेम्बेले पाएका छन्।
Shares

प्रतिक्रिया