‘राजनीति फोहोर खेल होइन, यसलाई फोहोरी खेलाडीहरूले मात्र फोहोर बनाएका हुन्। अब त्यो पोखरीलाई सफा गर्न योग्य नेतृत्वले त्यहीँ हाम्फाल्नुपर्छ।’
नेपालखबरको ‘संसदमा म’ सिरिजमा नवलपरासी (पूर्व)–२ बाट निर्वाचित २६ वर्षीय जेनजी सांसद मनिष खनालले यी शब्दहरू बोल्दै गर्दा उनमा नयाँ पुस्ताको आत्मविश्वास र दृढ संकल्प झल्किन्थ्यो।
देशको सर्वोच्च नीति निर्माण तह संसदमा आज एउटा यस्तो तन्नेरी उभिएको छ, जसको उमेरभन्दा बढी कतिपय नेताहरूको राजनीतिक अनुभव छ। तर, उनी अनुभवको कमीलाई ऊर्जा र स्पष्ट एजेन्डाले परिपूर्ति गर्न चाहन्छन्।
नवलपरासीको सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकामा हुर्किएका मनिषको राजनीतिक लगाव बाल्यकालमै सुरु भएको थियो। स्कुले जीवनमा पत्रिकाका पानाहरू पल्टाउँदै ‘संसद् कसरी चल्छ’ र ‘समाज कसरी चल्छ’ भन्ने जिज्ञासाले उनलाई पछ्याइरह्यो।
एसईई सकिएपछि काठमाडौं आएका मनिषले वैकल्पिक राजनीतिको लहरलाई पछ्याउन थाले। विवेकशील नेपाली दलमार्फत सामाजिक र राजनीतिक मुद्दाहरूमा जोडिएका उनी २०७६ सालमा जनकपुर अधिवेशनबाट पार्टीको कान्छो केन्द्रीय सदस्य बने। यसैबीच उनले कानुनको अध्ययनलाई पनि अगाडि बढाए, जसले उनलाई राज्यका अंगहरू बुझ्न अझ सहज बनायो।

भदौ २३ र २४ को त्यो ऐतिहासिक विद्रोह
मनिषको जीवनमा एउटा ठूलो मोड आयो– भदौ २३ र २४ गतेको युवा विद्रोह। तत्कालीन सरकारका कतिपय निर्णय र कुशासनका विरुद्धमा सडकमा उत्रिएका युवाहरूको नेतृत्वमध्ये उनी पनि एक थिए। यो एउटा यस्तो विद्रोह थियो, जसले मनिषलाई अदालतको इजलासबाट संसदको रोस्ट्रमसम्म डोर्यायो।
विद्रोहको मर्मबारे उनी भन्छन्– ‘हाम्रो पुस्ताले गरेको त्यो एउटा ऐतिहासिक विद्रोह थियो। हामीले तिरेको कर कहाँ उपयोग भइरहेको छ भनेर प्रश्न सोध्न हामी सडकमा उत्रिएका थियौँ। यदि त्यो विद्रोह र त्यसपछिको परिस्थिति नभइदिएको भए म अहिले कुनै अदालतको इजलासमा श्रीमानको अगाडि बहस गरिरहेको हुन्थेँ होला। तर परिस्थितिले मलाई आज सभामुख महोदय भन्दै रोस्ट्रममा उभ्यायो।’
‘दूध पोखरी’को कथा र चुनावी चुनौती
२६ वर्षको ठिटो, न पैसाको धाक, न त ठूला नेताको आशीर्वाद। चुनावमा जाँदै गर्दा मनिषका अगाडि धेरै प्रश्नहरू थिए– टिकट कसरी पाउने? खर्च कसरी जुटाउने? तर उनले आफ्नो ‘सामाजिक पुँजी’लाई विश्वास गरे।
‘सुरुमा मतदातामाझ जाँदा एउटा जेनजी, ठिटो मात्र होइन, म योग्य र सक्षम पनि छु भनेर बुझाउन केही समय लाग्यो,’ आफ्नो चुनावी अनुभवलाई उनी रोचक शैलीमा सुनाउँछन्, ‘चुनावमा जाँदा मलाई सानो बेला पढेको दूध पोखरीको कथा याद आउँथ्यो। कतै सबैले ‘घण्टीमा हाल्छु’ भनेर अरूले हालिहाल्छन् नि भन्दै अर्कोतिर त हाल्दैनन् भन्ने डर थियो। तर नतिजा आउँदा त्यो पोखरीमा पानी होइन, हामीले सोचेकै दूध पोखरीमा परिणत भयो।’
चुनावी खर्चबारे उनले थपे, ‘मसँग आर्थिक पुँजी त थिएन होला, तर मैले लामो समयदेखि कमाएको साथीहरू र नेटवर्कको सामाजिक पुँजी थियो। देश–विदेशबाट साथीहरूले पठाएको सानो–सानो सहयोगबाटै मैले चुनाव सम्पन्न गरेँ। मतदाताले पैसाको पक्षमा होइन, परिवर्तनको पक्षमा मतदान गरिदिनुभयो।’
संसदको पहिलो अधिवेशन सकिँदा मनिषले धेरै कुरा नजिकबाट नियाल्ने मौका पाए। उनी कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेर काम गरिरहेका छन्। एउटा कानुनको विद्यार्थीका लागि यो सबैभन्दा उपयुक्त थलो हो।
संसदको गरिमा र आफ्नो भूमिकाबारे उनी भन्छन्– ‘सदन छिर्दै गर्दा एउटा फरक अनुभूति त छ नै। हामीले गर्ने हरेक निर्णयले आम नागरिकलाई प्रभाव पार्छ। म मनिष खनाल मात्र भएर त्यहाँ गएको होइन, नवलपुर क्षेत्र नम्बर २ का हजारौँ मतदाताको आवाज र आशा बोकेर गएको हुँ। त्यसैले गल्ती गर्ने छुट हामीलाई छैन।’

उमेरले कान्छो, एजेन्डाले प्रखर
संसदमा उमेरले कान्छो भए पनि उनी आफ्ना साथीभाइ र समाजसँग उत्तिकै घुलमिल छन्। सांसद भएपछि जीवनशैली बदलिएला कि भन्ने आशंका नलिन उनी आग्रह गर्छन्।
‘साथीहरूले कहिलेकाहीँ जिस्क्याउँछन्– ‘माननीयज्यू हाम्रो स्कुटरमा बस्ने कि नबस्ने?’ तर, म पहिलेकै चिया पसलमा चिया खान्छु, स्कुटरमै हिँड्छु, पहिलेकै दाइकोमा कपाल काट्छु। सांसद भएपछि सबै कुरा तामझाम र तडकभडकपूर्ण हुनुपर्छ भन्ने भाष्यलाई हामीले नै परिवर्तन गर्नुछ,’ उनी भन्छन्।
पाँच वर्षको संकल्प
मनिषको आगामी पाँच वर्षको लक्ष्य स्पष्ट छ– भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, निर्वाचन प्रणालीमा सुधार र सामाजिक न्याय। विशेषगरी आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी समस्या, नारायणी कटान र युवा पलायनका पीडाहरूलाई उनले सदनमा मुखरित गर्न चाहन्छन्।
‘आम मतदाताको अपेक्षा निकै उच्च छ। बिहान म उठ्नुअघि नै मेरो फोन उठिसकेको हुन्छ,’ उनले भने, ‘नागरिकका स–साना समस्यादेखि नीतिगत कुराहरूसम्म मेरो फोन बजिरहन्छ। यो पाँच वर्ष म नथाकी, नडगमगाई आम मतदाताको त्यो आशालाई काममा बदल्न सक्रिय रहनेछु।’
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया