राजनीति


हामी लाचार भएर संसदीय दलको नेता छान्न ढिलाइ भएको होइन: गगन थापा

हामी लाचार भएर संसदीय दलको नेता छान्न ढिलाइ भएको होइन: गगन थापा

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १७:२१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले अल्छि वा लाचार भएर संसदीय दलको नेता चयन गर्न ढिलाइ नभएको जिरिक गरेका छन्। 

सोमबार संसदीय दलको नेता चयनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता गरिएको बताए। कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो। 

त्यही प्रस्तावलाई संसदीय दलले स्वीकार गरेको थापाले बताए। नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिए। ‘तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ। यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन। सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो,’ थापाले भने। 

आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुन नरसिंह केसी र अन्य आकांक्षी सांसदले पनि सहमति जनाएका छन्। विशेष गरी युवा पुस्ताका सांसदले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए।

‘हाम्रो पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो। पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ,’ थापाले भने। 

आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने उनको भनाइ थियो। उनले नयाँ र पुराना सबै सांसदलाई एकतावद्ध बनाएर लैजान बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad