नेपाली कांग्रेसले संसद् बैठक नबस्दै स्थगित गर्नु संवैधानिक नैतिकताको प्रतिकूल कार्य भएको जनाएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् अधिवेशनको बैठक नै नबस्दै स्थगित गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले संसद् बैठक नबस्दै स्थगित गर्नु संसदीय परम्परा विपरीत भएको बताए।
‘संविधान अनुसार अधिवेशन आह्वान गर्नु वैधानिक प्रक्रिया हो, तर सरकारकै सिफारिसमा बैठक नै नबस्दै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताको प्रतिकूल कार्य हो,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यसले संसद् जस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थालाई स्वतन्त्र विमर्श तथा निर्णय गर्ने निकायको रूपमा नभई, कार्यपालिकाको सुविधा अनुसार सञ्चालन हुने औजारका रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम उत्पन्न गरेको छ।’
यससँगै कांग्रेसले ‘विशेष कारण’ जस्तो अस्पष्ट आधारमा संसद् स्थगन गर्नु र त्यसबारे नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न खडा जनाएको छ। यस्तो प्रवृत्ति नागरिकको अधिकारमाथिको अपमान र जनआवाजलाई सीमित गर्ने प्रयासका रुपमा अर्थ्याएको छ।
‘मुलुकमा विद्यमान आर्थिक चुनौती, सुशासनका समस्या तथा जनजीविकासँग जोडिएका गम्भीर विषयहरूमा संसदमा हुने छलफलबाट सरकार पन्छिन खोज्दै संसद् बैठकबाट भाग्ने यस्तो प्रवृत्तिले लोकतन्त्रको आधारभूत संयन्त्र नियन्त्रण र सन्तुलनलाई कमजोर बनाउँदै पावर विदआउट एकान्टबिलिटीको अवस्था सिर्जना गर्ने खतरा बढाएको छ,’ कांग्रेसले भनेको छ।
कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेको छ। संसद् अधिवेशन नबोलाए सडकबाट आवाज उठाउने जनाउँदै कांग्रेसले भनेको छ, ‘संसदलाई प्रभावहीन बनाउने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर पार्ने कुनै पनि प्रयासका विरुद्ध नेपाली कांग्रेस सदन र सडक दुवै माध्यमबाट सशक्त रूपमा आवाज उठाउन प्रतिबद्ध रहनेछ।’
सरकारले ‘प्रिबजेट’बाट छलफल गर्न वैशाख १७ मा संसद् अधिवेशन बोलाएको थियो। तर, पछि विशेष कारण भन्दै स्थगित गराएको थियो।
Shares

प्रतिक्रिया