राजनीति


प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र: केराका बिचौलियालाई कारबाही गर्नुहोस्

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र: केराका बिचौलियालाई कारबाही गर्नुहोस्

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार २१:३९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्।

उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। हुनाले सामाजिक सञ्जाल मार्फत खुलापत्रमा शाहीले उल्लेख गरेका छन् कि ‘बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था हो।’ 

‘उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था अन्यायपूर्ण छ,’ उनले लेखेका छन्।

उनका अनुसार यस समस्याको प्रमुख कारण बिचौलियाको अत्यधिक प्रभाव हो। किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको उनले बताएका छन्। किसानहरू सिधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको पनि उनले उल्लेख गरेका छन्।

शाहीले यो समस्या केवल केरा बालीमा सीमित नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको बताएका छन्। 

‘यदि यस्ता समस्या समाधान गरिएन भने किसानहरू कृषि पेशाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्छ,’ खुलापत्रमा भनिएको छ।

उनले सरकारसँग केराका बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गरेका छन्। 

‘किसानको पसिनाअनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ उनले जोड दिएका छन्।

शाहीले अन्त्यमा यस गम्भीर विषयमा सरकार चाँडै संवेदनशील भई प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad