नेकपा (एमाले) ले विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानबिन गर्न माग गरेको छ।
मंगलबार एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री गुरुङको संलग्नता देखिएका सबै विषयको छानबिनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्न माग गरेका छन्। यससँगै गृहमन्त्रीमाथि तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि एमालेले माग गरेको छ।
‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ। यसका लागि अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्च स्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस।’
गृहमन्त्री गुरुङले कुनै ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न पनि एमालेले माग गरेको छ।
विज्ञप्तिमा एमालेले सधैं विधिको शासन र सुशासनका आधारभूत मूल्य मान्यतालाई संस्थागत गर्न प्रेरित गरिरहने जिकिर गरिएको छ। विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागू हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ।
Shares

प्रतिक्रिया