बुटवल अस्पताल लाइनको ज्ञवाली कम्प्लेक्सको चौथो तल्लामा श्री ईन्दुलेखा स्वास्थ्य क्लिनिक छ। त्यसको ब्यानरमा लेखिएको छ– ‘सुरक्षित गर्भपतन सेवा।’
तर यही क्लिनकमा गर्भपतन गराउन गएकी एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउने महिला हुन् पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डे।
मृतक गीताका श्रीमान् प्रकाश पाण्डेले चिकित्सकीय लापरवाही भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
गीता सिधै यस क्लिनिक भने पुगेकी होइनन्।
श्रीमान् प्रकाशका अनुसार गीता तीन महिनाकी गर्भवती थिइन्। उनलाई चैत २७ गते खत्री नर्सिङ होममा जाँचका लागि लगिएको थियो, जहाँ डाक्टर डिपी खत्रीले बच्चाको स्वास्थ्यमा सामान्य समस्या भए पनि अवस्था ठिकै रहेको बताएका थिए।
चैत ३० गते पुनः बोलाइए पनि डाक्टर अनुपस्थित भएपछि उनीहरू फर्किएका थिए। त्यसपछि वैशाख ५ गते फेरि अस्पताल जाँदा डाक्टर डिपी खत्रीले ‘प्रेस्क्रिप्सन लेटर’ र ‘लोकेसन कार्ड’ दिएर जोनल फार्मेसीमा पठाएका थिए।
जोनल फार्मेसीले डाक्टर नभएको भन्दै दुई प्रकारका औषधि दिएको र वैशाख ६ गते बिहान औषधि सेवन गरेपछि गीताको स्वास्थ्य अचानक बिग्रिएको प्रकाशको भनाइ छ।
औषधिको प्रतिक्रिया देखिएपछि उनलाई पखाला लाग्न थालेको र केही समय फार्मेसीमै राखिएको थियो। त्यसपछि उनलाई इन्दुलेखा स्वास्थ्य क्लिनिक लगिएको थियो, जहाँ डाक्टर सतीश रुपाखेतीले उपचार सुरु गरेका थिए।
मृतकका पति प्रकाश पाण्डेका अनुसार दिउँसो साढे ३ बजेतिर गर्भपतन प्रक्रिया सफल भएको जानकारी दिइए पनि करिब १० मिनेटमै गीता अचेत भएकी थिइन्। तत्काल लुम्बिनी सिटी हस्पिटल लगिँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

लापरवाही मात्र होइन हत्या होः आफन्त
घटनापछि प्रकाश पाण्डेले यो लापरवाही मात्र नभई ‘हत्या’ भएको दाबी गरेका छन्। १२ हप्तापछि गर्भपतन जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि सम्बन्धित चिकित्सकहरूले उचित निर्णय नगरेको आफन्तहरुले बताएका छन्।
ईलाका प्रहरी कार्यालय बुटवल बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै मृतकका आफन्त नारायण पन्थले स्वास्थ्य क्षेत्रमा लापरवाहीले ज्यान जान सक्ने भएकोले दोषीलाई कडा कारबाही गर्न माग गरे।
मृतकका आफन्त गोकुल पाण्डेले नियमित जाँच भइरहेकै ठाउँबाट रिफर गर्ने र क्लिनिकहरूले जिम्मेवारी नलिई असुरक्षित औषधि चलाउँदा अकालमा ज्यान गएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
उपचारसँग सम्बन्धित कागजात र प्रमाण लुकाइएको तथा अप्रेसनअघि कुनै सहमति पत्रमा हस्ताक्षर नगराइएको मृतकका श्रीमान प्रकाशले बताए।
प्रकाशले घटनामा संलग्न रहेको भन्दै खत्री नर्सिङ होमका डा. डिबि खत्री, जोनल फार्मेसीरक्लिनिक सञ्चालक सन्ध्या बस्नेत, जोनल फार्मेसीका निलम घर्ती मगर, इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक खगेन्द्र प्रसाद पाण्डे र इन्दुलेखा स्वास्थ्य क्लिनिकरहस्पिटलका डा. सतीश रुपाखेतीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
‘हाम्रो सानो छोराले न्याय पाओस् भनेर यो लडाइँ लडिरहेको छु,’ उनले भने। साथै, दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने र सम्बन्धित स्वास्थ्य संस्थाहरूमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन्।
डा डिबि खत्री भने घटना बाहिरिएपछि प्रहरीकोमा पुगेपनि उनलाई पक्राउ नगरिएको भन्दै आफन्तले आक्रोश पोखेका थिए।
तीन जना पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ।
प्रहरीले जाहेरी परेका अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनुमतिबिना वा लापरबाहीपूर्ण ढंगले उपचार गर्ने क्लिनिकहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले शवको पोस्टमार्टम र पक्राउ परेकाहरूको बयानका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।


Shares

प्रतिक्रिया