राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुहार हेरेर मन्त्रीहरू व्यवहार गरेको भन्दै पूर्वमन्त्री सुदन किरातीले असन्तुष्टि जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै किरातीले रास्वपालाई प्रश्न गरेका छन्। यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने मौका नदिएको र अहिले गृहमन्त्री सुधन गुरुङलाई फरक व्यवहार गरिएको उनको जिकिर छ।
‘पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको राइट टु रिकल भनेको के हो? अनि यो कस-कसलाई लागू हुन्छ? कस-कसलाई लागू हुँदैन?,’ किरातीले प्रश्न गरेका छन्।
यसअघि साहलाई श्रममन्त्रीबाट हटाएको र अहिले गृहमन्त्री गुरुङलाई ‘राइट टु रिकल’ लागू नभएकोमा अनुहार हेरेर विभेद गरिएको आरोप लगाएका छन्। किरातीले भनेका छन्, ‘मधेसी अनुहारका श्रममन्त्री माननीय दिपककुमार साहलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन?’
स्वास्थ्य बिमा बोर्डको सदस्यमा पत्नीलाई फर्काएको आरोप लागेपछि रास्वपाले साहलाई श्रममन्त्रीबाट हटाएको थियो। अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको समाचार आएका छन्।
त्यस्तै, शेयर खरिदमा पनि गृहमन्त्री गुरुङमाथि प्रश्न उठेका छन्। उनीबारे भने रास्वपाले केही बोलेको छैन। यसलाई लिएर पूर्वमन्त्री किरातीले प्रश्न गरेका हुन्।
Shares

प्रतिक्रिया