राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा संस्थापन इतर पक्षले छलफललाई तीव्र पारेको छ।
महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल पार्टीको महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटमसमेत दिइसकेको छ।
आगामी जेठभित्र महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन राणा नेतृत्वको टोलीले पार्टीका पुराना नेताहरुसँग छलफल अघि बढाएको छ।
आइतबार महामन्त्री राणाको नेतृत्वको टोलीले पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणासँग छलफल गरेको छ।
राणा निवासमा भएको भेटको क्रममा उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। भेटमा पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेतसमेत उपस्थित थिए।
अभिभावक नेताहरूले इतर पक्षले उठाएको विषय गम्भीर रूपमा लिएका राणाले जानकारी दिए।
केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तत्काल मिति घोषणा गरी अन्योलता चिर्नुपर्ने राणाले बताए।
यसैगरी विश्वसनीय रूपमा महाधिवेशन आयोजना गर्न कुनै निष्पक्ष व्यक्तित्वको संयोजनमा महाधिवेशन आयोजक समिति गठन हुनु पर्नेमा ध्यानाकर्षण गराएको नेता सगुन सुन्दर लावतीले जानकारी दिए।
राप्रपाको हालसम्म २७ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। यो अवस्थामा जेठमा महाधिवेशन सम्पन्न गर्न कुनै कठिनाइ नहुनेमा इतर पक्षले जोड दिँदै आएको छ।
चुनावी असफलतापछि कार्यकर्तापंक्तिमा रहेको अन्योलतालाई चिर्न समयमै महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेको राणा पक्षको जोड छ।
नेता लावतीले पार्टीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नयाँ नेतृत्व र नयाँ कार्यदिशाका लागि महाधिवेशन अनिवार्य भएको र यसमा अभिभावकहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको बताए।
Shares

प्रतिक्रिया