सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलकको विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन्।
भारतले नेपाली भू–भाग अतिक्रमण गरी मानसरोवर जाने करिडोर निर्माण गरेपछि त्यसको नेपालमा विरोध भइरहेका बेला भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको भनी नेपालले अरु कसैको आदेश बमोजिम भारतलाई दोष दिएको बताएका थिए। उनले् चीनतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारतीय सेनापतिको भनाई अपत्तिजनक भएको बताउँदै त्यसलाई तुरुन्त सच्याउन आग्रह समेत गरेका छन्। उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्रका रुपमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले नेपालले अरु कसैका आदेशमा नभइ आफ्नो भूमि फिर्ता गर्न आफैँ सक्रिय भएको प्रस्ट पारेका हुन्।
‘नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीमा नेपाली पक्षको अडान र भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रुपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेले दिएको अभिव्यक्ति आपत्तिजनक छ’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा श्रेष्ठले लेखेका छन्, ‘नेपाल जहिल्यै सार्वभौम र स्वतन्त्र राष्ट्रको रुपमा आफ्नै पक्षमा खडा छ। त्यसैले उनले आफ्नो भनाइ सच्याउनु पर्छ।’
— NKShresthaPrakash (@nksthaprakash) May 16, 2020Indian Army Chief M M Naravane's statement on Nepal's Stand on Limpiadhura,lipulek&Kalapani territory and India built Dharchula-Lipulek road is highy objectionable.Nepal always stands on its own as a Sovereign&Independent country. So he should correct it.
उनले नेपालीहरुलाई आफ्नो पक्षमा उभिन कसैको सहयोगको आवश्यकता नपर्ने समेत प्रस्ट पारेका छन्। उनले नेपाल वार्ताबाटै समस्या समधानका पक्षमा रहेको बताएका छन्।
‘कहिल्यै उपनिवेश नबनेको नेपालले आफ्नो भूमि अतिक्रमण गर्न र आन्तरिक मामलामा हस्तक्षेप गर्न कसैलाई दिँदैन। पूर्खाहरुले मातृभूमि बचाएकोमा हामी गर्व गर्छौं। पूर्खाको संस्कारलाई आत्मसात गर्दै हामी त्यो संस्कार रक्षा गर्न प्रतिबद्ध छौं’, उनले लगत्तै अर्को ट्विटमा लेखेका छन्, ‘हामीलाई हाम्रो पक्षमा उभिन कसैको सहयोग चाहिँदैन। हामी अपिल गर्दछौं, छलफल गरेरै समस्याको टुंगो लगाऔं।’
— NKShresthaPrakash (@nksthaprakash) May 16, 2020Nepal,never a colony,can't let any to occupy our Land & interfere in our internal affairs.We are proud of our ancestors,who saved our motherland.Being loyal to their tradition,we are committed to defend it.We don't need"someone"to make us stand for us.We appeal,let's sit&resolve.
भारतले पहिले नेपाली भूभाग आफ्नो नक्सामा समेट्ने कार्य गरेको थियो भने अहिले भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको तिब्बत पुग्ने सडक बनाएपछि नेपालमा त्यसको तीब्र विरोध भइरहेको छ।
भारतीय अतिक्रणका विरुद्धमा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिइसकेको छ भने केही वर्षयता खाली रहेको कालापानी नजिकको छाङरुमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरेको छ। बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय सहमति जुटाउने प्रयास गरेका थिए।

प्रतिक्रिया