विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशमाथि साघुँरो जित निकालेको छ।
पीएम कपमा जितका लागि संर्घष गरिरहेको एपीएफले कोसी प्रदेशमाथि पाँच रनको जित हात पारेको हो। यो जितसँगै एपीएफ ९ अंकसहित तालिकाको पाचौँ स्थानमा छ। कोसी प्रदेशले पीएम कपमा लगातार सातौँ हार बेहोरेको छ।
एपीएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोसी प्रदेश एक बल अगावै २२० रनमा अलआउट भयो। कोसीका लागि अंकित सुवेदीले सर्वाधिक ७२ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। अर्का ओपनर सुमन श्रेष्ठले ६५ रन बनाए। पहिलो विकेटका लागि सुमन र अंकितले १२२ रनको साझेदारी गरे। रोहन शाहले ३२ र आशिश मगरले १७ रन बनाए।
एपीएफका लागि अभिशेक गौतमले चार र रोहित पौडेलले दुई विकेट लिए। भुवन कार्की र अमर राउटेलाले समान एक विकेट लिए।
त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा कोसी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा २२५ रनमा अलआउट भयो।
एपीएफका सन्दीप जोराले सर्वाधिक ७२ रन बनाए। सुमित महर्जनलले ५७ र अमर राउटेलाले २७ रन बनाए। कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन बनाए।
कोसीका लागि सुजन थपलियाले तीन, विपिन महतो र दिनेश कँडेलले समान दुई विकेट लिए। रोहन शाहले एक विकेट लिए।
Shares

प्रतिक्रिया