राजनीति


महराविरुद्ध भ्रस्टाचार मुद्दा: यी हुन् अख्तियारले भेटेका मुख्य ५ ‘कनेक्सन’

महराविरुद्ध भ्रस्टाचार मुद्दा: यी हुन् अख्तियारले भेटेका मुख्य ५ ‘कनेक्सन’

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १७:११, काठमाडौँ

विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याउने अन्तर्राष्ट्रिय गिरोहसँगको साँठगाँठ पूर्वसभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता  कृष्णबहादुर महराका लागि राजनीतिक रूपमै महँगो सावित भएको छ। लामो समय शक्तिको आडमा जोगिँदै आएका महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको राजनीतिक करिअरमै गम्भीर धक्का लागेको हो।

अख्तियारले विशेष अदालतमा बुझाएको अभियोगपत्रमा महराको 'कनेक्सन' नेपालमा मात्र नभई चीन, भारत र बेल्जियमका सुन तस्करहरूसँग भएको उल्लेख छ। भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक ली हाङ सोङ, दाओजिन वाङ, बेल्जियमका दावा छिरिङ र भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले डिक्स्टेरसँग महराको ‘नेक्सस’ देखिएको हो। 

अख्तियारको अनुसन्धान निष्कर्षअनुसार महरा र सुन तस्करबीचको 'कनेक्सन' देखिने मुख्य पाँच बुँदा यस्ता छन्:

१. दुई सय ५६ पटकभन्दा बढी टेलिफोन संवाद: पूर्वसभामुख महरा र चिनियाँ तस्कर दाओजिन वाङबीच निकै बाक्लो सम्पर्क भएको देखिएको छ। महराले प्रयोग गर्ने मोबाइल नम्बर र वाङको नम्बरबीच २ सय ५६ पटकभन्दा बढी टेलिफोन संवाद भएको कल डिटेल रेकर्ड (सीडीआर) बाट पुष्टि भएको छ। यसलाई अख्तियारले उनीहरूबीचको गहिरो सम्बन्धको प्रमाण मानेको छ।

२. सुन छुटाउन भन्सारमा दबाब: २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भन्सारले समातेपछि उक्त सामान छुटाउन महरा बाबुछोराले नै दबाब दिएको अनुसन्धानमा देखिएको छ। महराले तत्कालीन भन्सार प्रमुख मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर 'त्यो सामान (भेप) हाम्रै चिनियाँ साथीको हो, के गर्न मिल्छ हेरिदिनू' भन्दै छुटाउन पहल गरेको अख्तियारको दाबी छ।

३. छोरा राहुलको प्रत्यक्ष संलग्नता: महराका छोरा राहुल (रेशम महरा) को चिनियाँ नागरिक वाङसँग प्रत्यक्ष आर्थिक र व्यावसायिक सम्बन्ध देखिएको छ। वाङले नेपालमा गर्ने अवैध कारोबारमा महरा परिवारले 'राजनीतिक संरक्षण' प्रदान गरेको र राहुलले भेपको लिलामी प्रक्रिया मिलाउन समेत सक्रियता देखाएको अभियोग पत्रमा उल्लेख छ।

४. चिनियाँ तस्करसँगको खानपिन र भेटघाट: अनुसन्धानका क्रममा सार्वजनिक भएका तस्बिर र दाओजिन वाङको बयानले महरा र वाङबीच नियमित भेटघाट र खानपिन हुने गरेको देखाउँछ। वाङले नेपालमा सुन तस्करीको 'सेटिङ' मिलाउन महराको राजनीतिक ओहोदा र शक्तिको दुरुपयोग गरेको आयोगको निष्कर्ष छ।

५. राजनीतिक र कानुनी संरक्षण सुन जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरे पनि सुरुमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट उनी जोगिएका थिए। तर, अख्तियारको अनुसन्धानले महराले आफ्नो पदको दुरुपयोग गरी चिनियाँ, भारतीय र बेल्जियमका तस्करहरूलाई सहयोग पुर्‍याएको तथा तथ्य लुकाउन खोजेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा पुर्‍याएको हो।

तीन देशका विदेशीसहित महराविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो माग गरेको छ।

यो पनि: पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनामाथि यस्तो छ अख्तियारको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad