राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फोन गरेर उपसभामुखमा समर्थन गर्ने बचन दिएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) ले दाबी गरेका छन्।
प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाबाट सरस्वती तामाङ र श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्।
रास्वपा प्रवक्ता मनिष झाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन्। ‘श्रम संस्कृति पार्टीका सासंद माननीय रुवीकुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ,’ प्रवक्ता झाले भने।
रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि राप्रपा संसदीय दलका नेता शाहीले असन्तुष्टि जनाएका छन्। ‘रविजीले मलाई फोन गरेर भन्या हुन्– उपसभामुखमा उम्मेदवारी दिनुस्, सघाउँछौँ,’ शाहीले भने।
आफूहरूले उपसभामुख नमागेको र सभापति लामिछानेले नै फोन गरेर सघाउने बचन दिएको उनको भनाइ छ। ‘हामीले फोन गरेर थोरै माग्यो हो र! आफैले फोन गरेर भनेका हुन्,’ शाहीले भने।
रास्वपमा लामिछाने कमजोर रहेकाले समर्थन गर्ने निर्णय फेरिएको उनको जिकिर छ। ‘रविजी नै पार्टीभित्र कमजोर छन्, जस्तो लाग्यो,’ शाहीले भने, ‘मैले राजनीति इमानदारीका साथ गर्ने हो। उनको पार्टीमा उनी कमजोर रहेछन् भन्ने देखियो।’
Shares

प्रतिक्रिया