५५ वर्षीया कुस्मा बुढाथोकी भक्कानिँदै भनिरहेकी थिइन्, 'सानैदेखि दुःख झेलेँ। एउटा होइन, तीन-तीन छोरा बिते। श्रीमान् पनि छैनन्। भारी बोकेर, मल फालेर हुर्काएको छोरा अब छैन। मैले भोगेजस्तो पीडा अरू कसैले भोग्नु नपरोस्।'
दार्चुलाको व्याँस गाउँपालिका-२ दुम्लिङकी कुस्माले ९ महिनाअघि २८ वर्षीय छोरा नारायणलाई गुमाइन्। घरका लागि रासन र सुत्केरी बुहारीका लागि सामान किन्न गएका नारायण महाकालीको तुइन चुँडिँदा कहिल्यै नफर्कने गरी अलप भए।
कुस्माले आफ्नो कलेँटी फुटाउने पीडा सुनाइरहँदा नजिकै रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ आफूलाई सम्हाल्न सकेनन्। उनी पनि भक्कानिए।
धरानको मेयर हुँदा श्रमदानको नयाँ बहस छेडेका साम्पाङ अहिले दार्चुलाको व्याँस क्षेत्रमा छन्। उनी यहाँ राजनीति गर्न वा पार्टी विस्तार गर्न होइन, वर्षौँदेखिको तुइनको नियति बदल्न श्रमदानबाट झोलुङ्गे पुल बनाउन आएका हुन्। उनी घट्टेखोलामा झोलुङ्गे पुल निर्माणमा लागेका छन्। मंगलबार व्याँस पुग्दा उनलाई स्थानीयले बाजागाजासहित स्वागत गरे। तर उनको मन भने तीन वर्षअघिको एउटा भिडिओमा अड्किएको थियो।
हर्कले तीन वर्षअघि टिकटकमा एउटा भिडिओ देखेका थिए— जहाँ एक सानी बालिका डराई-डराई तुइन तर्दै थिइन् र पछाडिबाट आमाले 'जा नानी जा' भन्दै थिइन्।
'त्यो देख्दा मलाई साह्रै नमज्जा लाग्यो। यति सानी नानी तुइनमा झुण्डिएको देख्दा मलाई आफू र राजनीति गर्ने सबैलाई थुक्न मन लाग्यो,' हर्कले भावुक हुँदै भने, 'मैले त्यतिबेलै प्रण गरेको थिएँ— चुनाव जितूँ वा हारूँ, यो तुइन विस्थापन गर्न पुल बनाउन आउँछु।'
अहिले ती बालिका गृष्मा धामी ८ वर्षकी भइन्। हर्कले तिनै गृष्मालाई भेटे र उनीसँगै तस्बिर खिचाए। उनै बालिकाको भिडिओले उनलाई धरानबाट दार्चुलाको विकट गाउँसम्म डोहोर्याएको हो।
अहिले उनी दुम्लिङको घट्टेखोलामा रहेको जीर्ण काठे पुल विस्थापन गरी श्रमदानबाट झोलुङ्गे पुल निर्माणमा जुटेका छन्। उनी आफैँ ढुङ्गा बोक्ने र गिट्टी कुट्ने काममा खटिएका छन्। महाकालीमा तुइन विस्थापन गरी पुल बनाउन भारतको अनुमति चाहिने प्राविधिक कठिनाइ भएपछि उनले हाललाई घट्टेखोलाबाट काम सुरु गरेका हुन्।
'कोही पनि महाकालीमा खसेर अकालमा मर्नु नपरोस्,' उनले भने, 'यो काममा सरकारको एक पैसा खर्च हुने छैन, हामी श्रमदानबाटै पुल ठड्याउने छौँ।'
महाकालीमा पुल बनाउन भारतसँग अनुमति लिन आफूले पहल गर्ने उनले आश्वासन दिएका छन्। चुनाव जितेर सांसद बनेपछि पनि उनी पुरानै 'श्रमदान' शैलीमा दार्चुलाका स्थानीयसँगै ढुङ्गा-माटोमा भिजिरहेका छन्।
Shares

प्रतिक्रिया