राजनीति


महावीर पुनले ३ मिनेटमा ११ पटक ‘भाइरस’ भनेपछि आशिका तामाङलाई हाँसो थाम्न सकस

महावीर पुनले ३ मिनेटमा ११ पटक ‘भाइरस’ भनेपछि आशिका तामाङलाई हाँसो थाम्न सकस

सांसद महावीर पुनले नातावाद, चाकरीवादलाई भाइरसको संज्ञा दिएका थिए।


नेपालखबर
चैत २५, २०८२ बुधबार १९:१४, काठमाडौँ

सधैँ अनुसन्धान, आविष्कार र प्रविधिको कुरा गर्ने स्वतन्त्र सांसद महावीर पुन बुधबार सदनमा फरक शैलीमा पेश भए। उनले ३ मिनेटको संक्षिप्त सम्बोधनमा कुनै वैज्ञानिक प्रयोगशालाको भाइरस होइन, बरु नेपाली राजनीतिलाई गाँजेको ‘राजनीतिक भाइरस’को चर्चा गरे।

पुनले आफ्नो ३ मिनेटको मन्तव्यमा ११ पटक ‘भाइरस’ शब्द उच्चारण गर्दा संसद भवनभित्र हाँसो र तालीको फोहरा नै छुट्यो। पुनले नातावाद, कृपावाद र चाकरीवादलाई भाइरसको संज्ञा दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ भने आफ्नो हाँसो थाम्न नसकेर निकै बेर छटपटाएको दृश्य रोचक देखिन्थ्यो।

महावीर पुनको कुरा सुनेर हाँसो थाम्न नसकेपछि आशिका तामाङ

सांसद पुनले सम्बोधन सुरु गर्दै भने, 'नेपालमा सदियौँदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट बच्नुहोस् भन्न चाहन्छु। त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो।'

उनले यो भाइरसको इतिहास केलाउँदै रणबहादुर शाहको पालादेखि जंगबहादुर राणा हुँदै २०६३ सालको आन्दोलनपछिसम्म पनि यसले नछोडेको भन्दै व्यङ्ग्य गरे।

पुनले ‘भाइरस’ शब्द दोहोर्‍याइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङको अनुहारमा सुरुमा मुस्कान देखियो, तर पुनले भाइरसको सूची लम्ब्याउँदै गएपछि उनी हाँसो थाम्न नसक्ने अवस्थामा पुगिन्। पटक–पटक दुवै हातले मुख छोपिन पछि हाँसो रोक्न दुवै हातले मुखआँखा नै छोप्नुपर्ने अवस्था आयो।

महावीर पुनले नयाँ सांसद र नयाँ सरकारलाई यो भाइरसबाट मुक्त हुन चुनौती समेत दिए। उनले थपे, 'अहिलेको नयाँ सरकार, नयाँ सांसदज्यूहरुले यो भाइरसबाट मुक्त हुनको लागि प्रयास गर्नु पर्छ। अबदेखि फलानो सांसद वा मन्त्रीले आफ्ना नातागोता र इष्टमित्रलाई नियुक्ति गर्‍यो भन्ने कुरा सुन्न नपरोस्।'

सम्बोधनको अन्त्यतिर पुनले देशको अर्थतन्त्र सुधार्न विज्ञान, प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने विचार राखे। उनले यदि सांसद र सरकारले यो कुरा नबुझे आफू एक घण्टासम्म बोलेर बुझाउन तयार रहेको भन्दै ठट्टा समेत गरे।

महावीर पुनले प्रतिकात्मक रूपमा ‘भाइरस’ शब्द दोहोराइरहँदा  हलमा उपस्थित रास्वपा सांसदहरुले भने टेबुल ठटाएर उनको मौलिक शैलीको खुलेर समर्थन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad