सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भीम रावलले सरकारको नीति तथा कार्यक्रममा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) घुसाएर पारित गर्न खोजेकोमा चर्को आलोचना गरेका छन्।
उनले नीति तथा कार्यक्रमको बुँदा नं २११ मा नेपाल सरकार र एमसीसीबीचको विद्युत प्रसारण लाइनको आयोजना घुसाइएको जनाएका छन्।
‘यो सम्झौता असमान, राष्ट्रिय हीत, नेपालको संविधान, स्वतन्त्र परराष्ट्र नीति, स्वाधिनता र आत्मनिर्णयको अधिकारको प्रतिकूल रहेको भन्दै नेकपा, केन्द्रीय कमिटिको दोस्रो बैठकमा कुरा उठेपछि कार्यदल गठन भएको थियो,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्यदलको प्रतिवेदनको आधारमा पार्टीले निर्णय गरेअनुसार सम्झौताबारे टुंगो लगाउने निर्णय भएको थियो।’
त्यसबारे पार्टीले कुनै निर्णय नगर्दै र सम्झौता के हुने भन्ने टुंगो नलाग्दै एमसीसीको आयोजनालाई पछाडिको ढोकाबाट छिराउन खोज्नु संसदको अपमान र पार्टीको निर्णयको अवहेलना हुने रावलको ठहर छ।
‘यस्तो अनुचित कार्यलाई रोकि नेपालको संविधान, हित, स्वाधिनता र स्वाभिमानको रक्षा गरिनुपर्छ,’ उनले भनेका छन्।
त्यस्तै बुँदा नं १४० मा छिमेकी राष्ट्रहरुको सहकार्यमा अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना गर्ने कुरा गरेकोमा पनि उनले आपत्ति जनाएका छन्।
‘यसको कानुनी अधिकार के हो, नेपालमा अन्तरदेशीय आर्थिक क्षेत्र कसरी स्थापना हुन्छ, स्पष्ट छैन,’ पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले भनेका छन्, ‘यस्तो धारणाबारे पार्टीमा कहिल्यै कुनै छलफल भएको छैन। कतै नेपालमा अवाञ्छित बाह्य भूमिका बढ्ने अवस्था नआओस्।’
अमेरिकी सहयाेग संस्था एमसीसीसँग गरिएकाे साे सम्झाैता नेपालकाे संसदबाट अनुमाेदन गर्नु पर्नेमा नेकपाभित्रै त्यसकाे चर्काे बिराेध भएका कारण राेकिएकाे छ।
एमसीसीकाे बिराेध गर्नेमा रावल अग्रपंक्तिमा छन्।
नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य, शिक्षा, कृषि लगायत कतिपय कुराको भने उनले प्रशंसा गरेका छन्।
सीमा सुरक्षाका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमी भएकोले यसलाई समेटेर नक्शा प्रकाशित गर्ने कुराको उनले स्वागत गरेका छन्।
— Bhim Rawal, Ph. D (@BhimRawal179) May 15, 2020नेपाल सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि लगायत कतिपय राम्रा कुरा आएका छन् । सीमा सुरक्षाका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमी भएकोले यसलाई समेटेर नक्शा प्रकाशित गर्ने कुरा स्वागतयोग्य छ ।यो माग व्यापकरूपमा उठ्दै आएको हो । तर संगै यो पनि छ: pic.twitter.com/ux4myhtOxB

प्रतिक्रिया