नयाँ सरकारले ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’मुक्त पालिका अभियान कडाइका साथ अगाडि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारकी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले उक्त अभियान तीव्र रुपमा अगाडि बढाएकी हुन्।
रावलले जिम्मेवारी सम्हालेपछि मन्त्रालयले कर्मचारीको व्यापक सरुवामार्फत पालिकामा निमित्त व्यवस्था अन्त्यको नीति लागू गर्न दृढता देखाएको छ। ४६० गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था अन्त्य भएको मन्त्रालयकी कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माले नेपालखबरलाई बताइन्।
उनका अनुसार निमित्तका भरमा चलिरहेका ७८ गाउँपालिकामा ७८ जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ।
‘गाउँपालिकामा दरबन्दी प्रमुख प्रशासकीय अधिकृत पठाइसकेका छौँ। यही चैत १६ गते ४६ वटा नगरपालिकामा ३ वटा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत पठाइसकेका छौँ,’ उनी भन्छिन्, ‘बाँकी ४३ वटा नगरपालिकामा पनि दरबन्दी अनुसारको उपसचिव पठाउने गृहकार्य गरिरहेका छौँ।’
मन्त्री रावलले जिम्मेवारी सम्हालेको केही दिनमै प्रशासनिक संरचना सुदृढ पार्न पालिकालाई ‘निमिक्तमुक्त’ बनाउने अभियान थालेकी हुन्। चैत १३ गते उनले जिम्मेवारी सम्हालेसँगै निमित्त प्रणाली अन्त्य गर्ने योजना तीव्र कार्यान्वयनमा आएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेको ३ दिनमै चैत १६ गते मन्त्री रावलले ६३ उपसचिवको सरुवा गर्दा ४९ उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएकी थिइन्।
यस्तै चैत १९ गते ७८ शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ। गत सोमबार ६३ जना उपसचिव र ६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। मन्त्रालयले सरुवा गरेका अधिकांश उपसचिवहरू र मन्त्रिपरिषद्को निर्णयबाट सरुवा भएका सहसचिवमध्ये पनि अधिकांशलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
चैत १७ मा बसेको मन्त्रिपरिषद् बैठकले तुलसीपुर, घोराही, बुटवल र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेको थियो। मन्त्रालयको कर्मचारी प्रशासन प्रमुख शर्माका अनुसार तुलसीपुरमा टेकनारायण पौडेल, घोराहीमा चन्द्रप्रसाद भुसाल, बुटवलमा दीपक ज्ञवाली र जनकपुरधाममा ज्ञानहरि घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ। गाउँपालिकामा निमित्त व्यवस्था अन्त्य भए पनि नगरपालिकामा भने अझै केही प्रशासकीय प्रमुख पठाउन बाँकी रहेको उनको भनाइ छ।
शर्माका अनुसार हालसम्म ४२ वटा नगरपालिका र एउटा उपमहानगरपालिका गरेर ४३ स्थानीय तहमा अझै निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्।
‘नयाँ सरकार गठन भएपश्चात दरबन्दी अनुसारको कर्मचारी खटनपटन गर्ने नीति बमोजिम तीव्र रुपमा काम भइरहेको छ,’ उनी भन्छिन्।
सहसचिव शर्माका अनुसार ती नगरपालिकामा पनि छिट्टै स्थायी प्रमुख प्रशासकीय अधिकृत पठाइने तयारी अन्तिम चरणमा पुगेको छ।
‘उपसचिवको नामावली तयार भइसकेको छ। स्क्रिनिङ गरेर एक–दुई दिनभित्रै ४३ नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत पठाइन्छ,’ उनले भनिन्।
मन्त्रालयका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतका कारण स्थानीय तहमा निर्णय प्रक्रियामा ढिलाइ, उत्तरदायित्व कमजोर हुने, सेवा प्रवाह प्रभावित हुने समस्या हुने गरेको थियो। ६ वटा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त छन् भने ११ उपमहानगरपालिकामध्ये १० उपमहानगरपालिका दरबन्दी अनुसारकै सहसचिव प्रमुख प्रशासकीय अधिकृत छन्। कप्र प्रमुख शर्माका अनुसार बाराको कलैया उपमहानगरपालिकामा भने निमित्त प्रमुख प्रशासकीय अधिकृत नै छन्।
गाउँपालिकामा निमित्त व्यवस्था पूर्ण रूपमा अन्त्य भएसँगै अब सरकारको ध्यान नगरपालिकातर्फ केन्द्रित भएको छ। अबको केही दिनमै बाँकी ४२ नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत पठाइएपछि स्थानीय तहको प्रशासनिक संरचना थप स्थायी र प्रभावकारी बन्ने मन्त्रालयको अपेक्षा छ।
स्थानीय तहमा दरबन्दी अनुसारको प्रशासनिक नेतृत्व हुँदा सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने दीर्घकालीन लक्ष्यका साथ सरुवा नीति कार्यान्वयन गरिने मन्त्रालयको योजना छ।
‘चैत १६ मा हामीले उपसचिवको सरुवा गर्यौँ, ६३ जना उपसचिवको सरुवा हुँदा ४९ जना नगरपालिकामा पोस्टिङ गर्यौँ। बाँकी साथीहरूलाई जिल्ला समन्वय समितिमा गर्यौँ,’ उनले भनिन्।
पालिकामा सरुवा भएका कर्मचारीहरू रमाना लिएर जाने क्रममा रहेको शर्माको भनाइ छ।
‘निजामती सेवा ऐनले सरुवा भएको २१ दिनभित्र रमाना लिएर हिँडिसक्नुपर्ने हो। सरुवा गरेको २१ दिन भइसकेको छैन। साथीहरू जाने क्रममै हुनुहुन्छ,’ उनी भन्छिन्।
मन्त्रालयले विद्यमान ऐन तथा नियमावलीअनुसार सरुवा आदेश उल्लङ्घन गर्ने कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ। मन्त्री रावलले पनि खटाएको ठाउँमा जान्नँ भन्ने कर्मचारीलाई मार्गप्रशस्त गर्न निर्देशन दिएकी छन्।
Shares

प्रतिक्रिया