राजनीति


रेडियोकर्मीदेखि महान्यायाधिवक्तासम्म: यस्तो छ अधिवक्ता डा. नारायण कँडेलको यात्रा

रेडियोकर्मीदेखि महान्यायाधिवक्तासम्म: यस्तो छ अधिवक्ता डा. नारायण कँडेलको यात्रा

नेपालखबर
चैत २२, २०८२ आइतबार १६:५६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुख्य कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) मा नियुक्त अधिवक्ता डा.नारायणदत्त कँडेलको व्यावसायिक यात्रा निकै रोचक देखिएको छ। २०५० को दशकमा रेडियो नेपालबाट सञ्चार कर्म सुरु गरेका कँडेल अहिले मुलुकको सर्वोच्च कानुनी परामर्शदाताको जिम्मेवारीमा पुगेका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै डा. कँडेलले महान्यायाधिवक्ताको कार्यभार सम्हाल्नेछन्।

सञ्चार क्षेत्रबाट व्यावसायिक जीवन सुरु गरेका कँडेलले पत्रकारितापछि कानुनी क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका थिए। २०६० सालदेखि निरन्तर वकालतमा सक्रिय उनी शैक्षिक रूपमा पनि निकै अब्बल मानिन्छन्। उनले बेलायतको उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट कानुन विषयमा विद्यावारिधि गरेका छन्। विदेशमा उच्च शिक्षा हासिल गरेपछि पुनः स्वदेश फर्किएर उनी न्यायिक क्षेत्रको सुधार र वकालतमा रहँदै आएका थिए।

रवि लामिछानेको कानुनी ढाल
डा. कँडेलको नाम पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा प्रखर बहस गर्ने वकिलका रूपमा चर्चामा थियो। लामिछानेमाथि लागेका विभिन्न कानुनी मुद्दाहरूको सुरुवाती चरणदेखि नै कँडेलले अदालतमा प्रतिरक्षा गर्दै आएका थिए। सहकारी प्रकरण र नागरिकता/राहदानी विवादका जटिल कानुनी बहसहरूमा उनले लामिछानेको पक्षबाट प्रभावशाली भूमिका निर्वाह गरेका थिए।

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालय र टिम निर्माणमा 'पपुलिजम' भन्दा 'विज्ञता' लाई प्राथमिकता दिने क्रममा डा. कँडेललाई रोजेका हुन्। सञ्चारको अनुभव, अन्तर्राष्ट्रिय शैक्षिक योग्यता र अदालती अभ्यासमा खारिएका कँडेललाई महान्यायाधिवक्ता बनाउँदा सरकारलाई कानुनी र संवैधानिक जटिलता सुल्झाउन सहज हुने विश्वास लिइएको छ।

महान्यायाधिवक्ताका रूपमा अब डा. कँडेलले सरकारका विरुद्ध पर्ने रिटहरूको प्रतिरक्षा गर्ने, जटिल कानुनी राय दिने र सरकारी वकिलहरूको नेतृत्व गर्नेछन्। 'निजी' वकिलको पहिचानबाट 'सरकारी' वकिलको सर्वोच्च कमानमा पुगेका कँडेलको आगामी कार्यसम्पादन कस्तो रहला भन्नेमा कानुनी वृत्तको विशेष चासो रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad