उपसभामुख पद कसले पाउला भन्ने अनुमान तीव्र बनेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आज (शनिबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेटेका छन्।
सभापति लामिछानेसँग करिब एक घण्टा संवाद गरिएको शाहीले नेपालखबरलाई जानकारी दिए।
‘उहाँसँग उहाँकै निवासमा करिब १ घण्टा कुरा भयो’, उनले भने, ‘छलफल उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित थियो।’
यस विषयमा शाहीले खुलस्त बताउन भने चाहेनन्। यद्यपि उनले ‘रवि लामिछानेको चाहना उपसभामुख राप्रपाबाट भइदियोस् भन्ने रहेको’ दाबी गरेका छन्।
भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै शाहीले फेसबुकमा पनि लेखेका छन्, ‘विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’
सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन्।
अब उपसभामुख पदका लागि भने यही चैत २२ गते निर्वाचन हुँदै छ।
यसैबिच उपसभामुख पद श्रम संस्कृति पार्टीले पनि दाबी गरेको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदै छ। हामी महिला उम्मेदवार खडा गर्दै छौँ। हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई? ७ भोट आउँछ कि १८९?’
त्यसो त नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुख पदको आकांक्षा राखेका छन्।
रास्वपाले जसलाई समर्थन गर्छ उसले उपसभामुख पद पाउने निश्चित छ। किनकि २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) छ।
Shares

प्रतिक्रिया