राजनीति


सभामुखको आसनमा डीपी : मुख्य चुनौती बालेनको निगरानी

पूर्वसभामुखहरू भन्छन् : समन्वय गर्न सके ठूलो मौका छ
सभामुखको आसनमा डीपी : मुख्य चुनौती बालेनको निगरानी

लोकेन्द्र भट्ट
चैत २०, २०८२ शुक्रबार २०:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल संघीय संसदको १० औँ सभामुख निर्वाचित भएका छन्।

२०१५ सालमा भएको पहिलो आम निर्वाचनदेखि आजसम्म संघीय संसदले १० जना सभामुख जन्माएको छ। नेपालको संसदीय इतिहासमा कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्बाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, देवराज घिमिरेसँगै अर्यालको नाम पनि सभामुखको सूचीमा थपिएको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट करिब दुई तिहाइ सिट प्राप्त गरेर सरकारको नेतृत्वको गरिरहेको रास्वपाले अर्याललाई सभामुख बनाउने निर्णय गरेको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सांसद छन्। कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७ र राप्रपाका ५ सांसद छन्। 

सत्तापक्षको स्पष्ट बहुमत भएको र प्रतिपक्षी दलहरूबाट सभामुख पदमा उम्मेदवारी नपरेको हुनाले अर्याल निर्विरोध निर्वाचित भएका हुन्। सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर्धारित समयमा अर्यालको मात्र उम्मेदवारी पर्‍यो। 

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

प्रतिनिधिसभाको आगामी आइतबार बस्ने बैठकमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ। त्यसपछि अर्यालले सभामुखको जिम्मेवारी सम्हाल्ने छन्। 

पूर्वसभामुख र उपसभामुखहरू अर्याललाई संसदमा नयाँ मानक स्थापित गर्ने अवसर प्राप्त भएको बताउँछन्। निवर्तमान सभामुख देवराज घिमिरेले सभामुख अर्याललाई सदन सञ्चालनमा सहज हुने बताए। 

‘मैले तीन वर्ष सभामुख चलाउँदा १३ वटा दल, पाँच जना स्वतन्त्र उम्मेदवार थिए। उनीहरूलाई संयोजन गर्ने कुरा सहज थिएन। अहिले ६ वटा दल र एक जना स्वतन्त्र सांसद हुनुहुन्छ। त्यसमा पनि रास्वपा अत्यधिक बहुमतमा भएकाले अहिले आएका सभामुखलाई संसद् सञ्चालन गर्न र प्रभावकारी बनाउन सहज छ,’ उनले भने। 

अहिलेको संसदमा उत्पन्न हुने दलीय विमति मिलाउन सजिलो रहेको घिमिरेको बुझाइ छ। 

‘उहाँका लागि एउटा राम्रो अवसर छ। तर, रास्वपाले संसदीय मूल्यमान्यतालाई कसरी लिन्छ, त्यसमाथि भर पर्ने कुरा हुन्,’ उनले नेपालखबरसँग भने, ‘तथापि रास्वपा संसदीय अभ्यासमा आएर तीन वर्षको अनुभव लिइसकेको छ। रास्वपा ठीकै ढंगले चल्ला। अर्यालजी आफैँ पनि नरम स्वभाव र सबैका कुरा सुन्ने व्यक्ति हुनुहुन्छ। व्यक्तिगत रूपमा समझदार हुनुहुन्छ। उहाँले सभामुख राम्रो गरी चलाउनु हुन्छ र उहाँको कार्यकाल राम्रो हुने मैले देखेको छु।’

सरकारलाई ठीक ढंगले नियमन गर्नु संसदको मुख्य कार्यभार भएको भन्दै सरकार वा राष्ट्रलाई आवश्यक परेका कानुन बनाउन जोड दिनुपर्ने घिमिरेको भनाइ छ। 

‘सरकार कानुनसम्मत चलोस् भनेर नियमन गर्ने सभामुखको मुख्य कार्यभार हो,’ उनले भने, ‘विगतमा कयौँ कानुनहरू संसदमा विवाद भएर अल्झिएको अवस्था छ। भएका कानुन अनुसार सरकार सञ्चालनमा तदारुकता नदेखिए संसदले ध्यानाकृष्ट गराउने र नियमन गर्ने कुरामा तुलनात्मक रूपमा प्रभावकारी हुन सकेन। अब त्यसलाई ध्यान दिनुपर्छ।’

यस्तै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सभामुख निर्विरोध हुँदा निष्पक्ष, स्वतन्त्र र तटस्थ रहनका लागि वातावरण बन्ने बताए। 

‘म पनि निर्विरोध सभामुख भएको थिएँ। सभामुखले संवाद, समझदारी र सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘सभामुखलाई असीमित अधिकार भए पनि सभामुखको जिम्मेवारी समन्वय नै हो। सभामुख निर्विरोध हुँदा निष्पक्ष, स्वतन्त्र र तटस्थ रहने वातावरण बन्छ।’

प्रतिनिधिसभाको नियमावली र परम्परागत अभ्यासलाई आत्मसात गर्दै सबै दलसँग समन्वय गरेर अगाडि बढ्दा सभामुख अर्यालका लागि ठूलो अवसर बन्ने उनको भनाइ छ। 

‘सुशासनको प्रभावकारी पहल लिने भनेको प्रतिनिधिसभाले हो। प्रतिनिधिसभा सुशासन, सेवा प्रवाह र कानुन निर्माणका लागि महत्वपूर्ण संस्था हो,’ उनले विगतको अनुभव सुनाए, ‘निकट विगतमा सदन प्रतिक्रियात्मक भएको थियो। राम्रो विचार, सिद्धान्त र नीतिमा बहस र छलफल हुनसकेको थिए। गुणात्मक रूपमा कानुन पनि बनेनन्। अहिले यो अवसर छ। त्यसका लागि उहाँलाई शुभकामना दिन चाहन्छु।’

यता पूर्वउपसभामुख पुष्पा भुसालले पनि सभामुख अर्याललाई विगतको संसदीय अनुभवले सदन सञ्चालनमा सहज हुने बताइन्। 

‘उहाँ यसअघि पनि संसदमा बसिसकेको व्यक्ति हुनुहुन्छ। विगतको अनुभवले उहाँलाई सहज हुन्छ,’ उनी भन्छिन्। 

सभामुखले सांसदको समान हैसियत हुन्छ भनेर व्यवहार गर्दा सदन प्रभावकारी हुने भुसालको भनाइ छ। 

‘सदनलाई राम्ररी चलाउनका लागि संख्यामा धेरै, थोरै भए पनि सभामुखका लागि सबै दल बराबर हुन्छन्। सरकार चलाउन अल्पमत, बहुमत हुन्छ होला,’ उनले भनिन्, ‘सदन चलाउन बहुमत, अल्पमत हुँदैन। रास्वपाको दुई तिहाइ सरकार बनाउन काम लागे पनि सदन चलाउन काम लाग्दैन। सबै पार्टीको बराबर भूमिका हुन्छ।’ 

संसदमा तटस्थ भूमिका खेल्नुपर्ने अर्यालका लागि चुनौती र अवसर दुवै भएको भुसाल बताउँछिन्। 

‘सभामुख भइसकेपछि म दुई तिहाइ बहुमत प्राप्त दलको सभामुख भन्ने कुरा बिर्सिनुपर्छ। उहाँ सबैको सभामुख बन्नुपर्छ,’ उनी भन्छिन्।

को हुन् डीपी अर्याल?
५१ वर्षीय अर्यालको जन्म धादिङ ज्वालामुखी गाउँपालिकामा २०३२ सालमा भएको हो। सामान्य मजदुरबाट काम थालेका उनीसभामुखको कुर्सीसम्म पुग्न सफल भएका छन्। 

२०४९ सालमा रोजगारीका लागि काठमाडौँ आएका उनी सुरुआती दिनमा रेस्टुरेन्टमा कामदार बने। २०५३ मा वैदेशिक रोजगारीका लागि जापान गएका अर्याल करिब ८ वर्ष काम गरेर स्वदेश फर्किएका थिए। जापानबाट फर्किएपछि पर्यटन व्यवसायमा होमिएका अर्यालले पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा लगानी गरे।

सुमिरे टुर्स एन्ड ट्राभल्स, इजिलिंक रेमिट्यान्स, योकोहामा जापानिज ल्याङ्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्थामा लगानी गरेका थिए। अर्याल इजिलिंक रेमिट्यान्सको सीईओसम्म भए। कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा अर्यालले सक्रियता देखाएका थिए। 

२०७९ अगाडि खुला राजनीति नदेखिएका उनी व्यवसायसँगै सामाजिक सेवामा केन्द्रित थिए। २०७४ सालमा कालीकोटको रास्कोटमा अस्पताल निर्माणमा तत्कालीन चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग जोडिएका उनी २०७९ मा खुला राजनीतिमा आए। २०७९ असार ७ मा लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत अर्याल राजनीतिक मैदानमा उत्रिए। 

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट अर्याल समानुपातिक तर्फबाट सांसद चुनिए। २०७९ माघमा तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए। पहिलो पटक मन्त्री बन्दा आर्यालले २० दिन मात्र काम गर्न पाए। २०८१ फागुनमा उनले दोस्रो पटक श्रममन्त्री भएर ४ महिना २८ दिन काम गर्ने मौका पाए। 

रास्वपा गठनपछि पार्टीको संस्थापक केन्द्रीय सदस्य र उपसभापति हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी अर्यालको काँधमा आइपर्‍यो। सभापति लामिछाने नागरिकता विवादका कारण पदमुक्त हुँदा अर्यालले कार्यवाहक सभापतिका रूपमा रास्वपाको नेतृत्व गरे। सभापति लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगमा प्रहरी हिरासत र पुर्पक्षका लागि थुनामा रहँदा पनि कार्यवाहक सभापतिको जिम्मा पाए। 

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको चुनावी कमान्डर बनेका उनी काठमाडौँ–९ मा भारी मतान्तरका साथ निर्वाचित भए। सांसद निर्वाचित अर्याल पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बन्न चाहन्थे। सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष अर्याललाई गृहमन्त्री बनाउन प्रस्ताव पनि गरेका थिए। 

तर, प्रधानमन्त्री शाहले जेनजी आन्दोलनको अगुवा सुधन गुरूङलाई गृहमन्त्री बनाउने अडान लिएपछि अर्याललाई सभामुख बनाउने रास्वपामा समझदारी जुटेको थियो। बिहीबार बसेको रास्वपा संसदीय दल बैठकको प्रस्ताव अनुसार अर्याल सभामुखको उम्मेदवार बनेर निर्विरोध निर्वाचित भएका छन्। सभामुख निर्वाचित भएसँगै रास्वपासँगको आबद्धता त्यागेर अर्याल पाँच वर्षका लागि बालेन सरकारको निगरानी गर्ने आसनमा पुगेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad