इरान र इजरायलबीच बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सन्देश र दृश्यहरू प्रवाह गरेको आरोपमा ११ जना नेपालीहरू विभिन्न मुलुकमा पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय पश्चिम एसियाली मुलुकहरूले साइबर सुरक्षा र अफवाह नियन्त्रणमा चालेको कडा कदमका कारण उनीहरू कानुनी फन्दामा परेका हुन्।
पक्राउ पर्नेमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसबारे जानकारी दिएका हुन्।
इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्र तथा ड्रोनहरू खाडी मुलुकका आकाशमा देखिएपछि त्यसको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोग उनीहरूमाथि लागेको छ। युद्धग्रस्त क्षेत्रका सुरक्षा रणनीति र संवेदनशील सैन्य सूचनाहरू बाहिरिने डरले ती मुलुकहरूले यस्ता गतिविधिमाथि कडा प्रतिबन्ध लगाएका छन्।
प्रवक्ता क्षेत्रीले भने, 'सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेका हुन्। इजरायल–अमेरिका र इरानबीच भइरहेको द्वन्द्वपछि इरानले खाडी मुलुकको आकाश प्रयोग गरी गरिरहेका आक्रमणका क्रममा आएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो भिडियो खिच्ने र गलत अफवाह फैलाउने गरेको अभियोग मन्त्रालयले पाएको छ।'
पक्राउ परेका नेपालीहरूको अवस्था र उनीहरूमाथि लाग्न सक्ने सजायबारे सम्बन्धित देशका नेपाली नियोगहरूले समन्वय गरिरहेका छन्। प्रवक्ता क्षेत्रीले भने, “पक्राउ परेकाहरूका हकमा सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले आवश्यक बुझ्ने काम भइरहेको छ। उनीहरूमाथि लागेको चार्ज के हो? त्यसको लागि जरिवाना कति हुन्छ? भन्ने विषयमा विस्तृत जानकारी लिने काम भइरहेको छ।'
पछिल्लो समय इरान र इजरायलबीचको प्रत्यक्ष द्वन्द्वले खाडी क्षेत्रका मुलुकहरू उच्च सुरक्षा सतर्कतामा छन्। विशेषगरी साउदी अरेबिया र यूएई जस्ता मुलुकहरूमा 'एन्टी साइबर क्राइम ल' अत्यन्तै कडा छ। यस्ता मुलुकमा सरकारी अनुमति बिना सैन्य गतिविधि, दुर्घटना वा सुरक्षा संवेदनशीलतासँग जोडिएका फोटो र भिडियो खिच्नु वा टिकटक र फेसबुकमा अपलोड गर्नु गम्भीर अपराध मानिन्छ।
नेपालबाट वैदेशिक रोजगारीका लागि यी मुलुक पुगेका करिब १५ लाख नेपालीमध्ये ठूलो हिस्सा सामाजिक सञ्जालमा सक्रिय छ। तर, स्थानीय कानुन र युद्धकालीन संवेदनशीलताको ज्ञान नहुँदा धेरै नेपालीहरू अन्जानमै कानुनी संकटमा पर्ने गरेका हुन्। अफवाह फैलाउनेलाई मोटो जरिवानादेखि जेल सजाय र 'डिपोर्ट' (देश निकाला) सम्मको कानुनी व्यवस्था ती देशहरूमा रहेको छ।
परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशको कानुन पालना गर्न र संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न अपिल गरेको छ।
Shares

प्रतिक्रिया