राजनीति


आजदेखि संसद् अधिवेशन, नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक

आजदेखि संसद् अधिवेशन, नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक

नेपालखबर
चैत १९, २०८२ बिहिबार ५:२०, काठमाडौँ

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ।

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन्।

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad