राजनीति


सरकारी वकिल कार्यालयले थाल्यो रमेश लेखकको बयान

आयोगमा भनेका थिए- गोली हान्न आदेश दिएको थिइनँ
सरकारी वकिल कार्यालयले थाल्यो रमेश लेखकको बयान

पूर्वगृहमन्त्री रमेश लेखक (फाइल फोटो)


नेपालखबर
चैत १८, २०८२ बुधबार १३:२६, काठमाडौँ

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ।

महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणको हिरासतमा राखिएका लेखकलाई केही बेरअघि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो। 

सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार (चैत १४) प्रहरीले पक्राउ गरेको थियो। लेखकको बयान सकिएपछि मात्रै ओलीको बयान सुरु गरिने एसपी भट्टराईले बताए।

जाँचबुझ आयोगले उनीहरूलाई ज्यान सम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। सोही कसुरमा जिल्ला अदालत काठमार्डौँबाट पहिलोपटक आइतबार ५ दिनको म्याद थप गरिएको छ।

थप गरिएको म्याद पनि आजै (बुधबार) सकिँदै छ।

यसपछि उनीहरूलाई थप हिरासतमा राख्न प्रहरीले बिहीबार पुन: अदालतमा उपस्थित गराउनुपर्नेछ।

ओली भने अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

ओलीलाई सोही कारण म्याद थपका लागि अदालतमा उपस्थित गराउन पनि प्रहरीले सकेको थिएन।

चिकित्सकले नै उनलाई आफ्नो निगरानीमा राख्नु पर्ने बताएपछि भिडिओ कलमार्फत उनको सुनुवाइ गरिएको थियो। 

यसअघि जाँचबुझ आयोगले पनि उनीहरूको बयान लिएको थियो। जुन बयानमा भने दुवै जनाले गोली चलाउन आदेश नदिएको दाबी गरेका थिए। 

यस्तो छ रमेश लेखकले जाँचबुझ आयोगमा दिएको बयान:
भाद्र २३ र २४ गते देशका विभिन्न भाग, विशेषतः काठमाडौँ उपत्यकामा देखिएको असहज सुरक्षागत अवस्थाबारे म गृहमन्त्रीको हैसियतमा समग्र शान्ति सुरक्षा कायम गर्ने संवैधानिक र कानुनी दायित्वमा थिएँ। घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत मलाई प्राप्त भएको थियो र, सोही आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गर्दै स्थिति अनुगमन गरिरहेको थियो।

मैले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशनऽ समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु। नेपाल सरकार कार्यविभाजन नियमावलीले गृह मन्त्रालयलाई आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्था सम्बन्धी नीति, मापदण्ड, कानुन, योजना कार्यान्वयन र नियमनको कार्य तोकेको छ, र यसको कार्यसम्पादन सम्बन्धित कानुन अनुसार मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको छ।

गृहमन्त्री, मन्त्रालयको प्रशासनिक निकाय र प्रहरी प्रशासनबीचको रिपोर्टिङ र निर्देशन पनि विषयगत कानुन बमोजिम नै चल्ने गथ्र्यो, आवश्यकता अनुसार कहिलेकाहीं सोझै सम्पर्क पनि हुन्थ्यो। नेपाल सरकार मन्त्रिपरिषदमा सामाजिक सञ्जालसम्बन्धी निर्णय गर्ने प्रस्ताव गृह मन्त्रालयको तर्फबाट नभएकाले यस विषयमा सुरक्षा निकायसँग छुट्टै राय सुझाव लिने प्रक्रिया भएको थिएन। 

भाद्र २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो, जहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायबाट भाद्र २३ गते जियनजेड युवाहरूले शान्तिपूर्वक प्रदर्शन गर्ने जानकारी दिइएको थियो र सम्भावित हिंसाबारे कुनै ठोस सूचना प्राप्त भएको थिएन।

गृहमन्त्रीको हैसियतले मैले भाद्र २३ गतेको प्रदर्शनका सन्दर्भमा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन, राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्ने जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ। 

भाद्र २३ गते प्रदर्शनकारी र प्रहरीबीच संसद्‌ भवन परिसरभित्र बाहिर भिडन्त भइरहँदा संघीय संसद्‌ भवनलाई कुनै पनि हालतमा सुरक्षित राख्नुपर्छ भन्ने मेरो धारणा थियो, तर अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ। बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय हो, र यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन। 

प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास नभएकाले सो नगरिएको कुरा मैले बयानमा स्पष्ट गरेको छु। 

बानेश्वरतर्फ प्रदर्शन उग्र र हिंसात्मक हुँदै गएको जानकारी पाउनासाथ मैले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिलाई जानकारी गराएँ। गोली चलेर व्यक्ति हताहत भएको खबर पाएपछि नागरिकको जीउ ज्यानको सुरक्षा व्यवस्था मिलाउन, हताहती रोक्न गृह मन्त्रालयका पदाधिकारी र सुरक्षा निकायहरूसँग तत्काल छलफल गरियो र घाइतेहरूको उपचारका लागि प्रशासनलाई सहजीकरण गर्न निर्देशन दिइयो।

भाद्र २३ गतेको दुःखद र अकल्पनीय घटनाको कारण म अत्यन्त दुःखी र मर्माहत भई ठुलो पीडाबोधका कारण मैले तत्काल नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीको पदबाट राजीनामा दिएँ। भाद्र २३ मा जियनजेड पुस्ताले उठाएका मागहरू मूलतः ठीक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु।

तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दुःखद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन भन्ने मेरो ठम्याइ छ। 

“हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आआफ्नो घर फर्किनुस्” भन्ने जेन-जेड अगुवाहरूको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि भएको मैले देखेँ। भाद्र २४ का घटनालाई युवाको मागभन्दा पृथक ढंगले हेर्नुपर्छ र आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा म दृढ छु।

काठमाडौँस्थित नैकाप र कञ्चनपुर महेन्द्रनगरमा रहेका मेरा निजी घरमा प्रदर्शनकारीहरू प्रवेश गरी तोडफोड, आगजनी र लुटपाट भयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ प्रहरी विधेयक संसद्‌मा दर्ता भई राज्य व्यवस्था समितिमा छलफलमा थियो। मैले राज्यको सुरक्षा प्रणालीमा देखिएका कमजोरी, सूचना संकलन र विश्लेषणको अभाव, युवापुस्तासँग राज्यको संवाद कमजोर पूर्वतयारी पर्याप्त नहुनुजस्ता पक्ष आत्मालोचनासहित स्वीकार गरेको छु। 

दीर्घकालीन रूपमा शान्ति सुरक्षाको सुनिश्चितताका लागि कानुनी सुधार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, मानव अधिकारमैत्री भीड व्यवस्थापन, अन्तर निकाय समन्वय, प्रविधिको प्रयोग र राजनीतिक, प्रशासनिक उत्तरदायित्व स्पष्ट हुनु/गर्नुपर्ने आवश्यकता मैले औँल्याएको छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad