राजनीति


बालेन भेटेपछि शम्भु ढकालसँग ‘तत्कालै’: ‘अरुको कुरा सुन्दैनन्’ भन्ने सांसदको भ्रम तोडियो (भिडिओ)


अनिल यादव
चैत १७ , काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु ढकाल ‘सुस्केरा’ले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग थालनी गरेको छलफल ‘उन्नत लोकतन्त्रको अभ्यास’ भएको बताएका छन्।

आइतबारबाट प्रधानमन्त्री शाहले सात वटै प्रदेशका सांसदहरूसँग थालनी गरेको छुट्टाछुट्टै भेटघाटलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ‘कोठे बैठक’ भनेर बहिष्कार गर्‍यो। के त्यो बैठक कोठे नै थियो त? 

नेपालखबर ‘तत्कालै’मा गफिन आइपुगेका झापा ४ बाट निर्वाचित सांसद ढकालले जवाफमा बैठकमा प्रधानमन्त्रीले सबै सांसदहरूको सुझाव लिएको बताए।  

‘प्रधानमन्त्रीले बोलाइदिनुभयो, छलफल गर्नुभयो, हाम्रा कुरा सुन्नुभयो र आफ्नो कुरा भन्नुभयो,’ उनले भने, ‘यो एउटा उन्नत लोकतन्त्रको अभ्यास हो। जो–जो उपस्थित हुनुभयो, सबैले आत्मविश्वासका साथ, सौहार्द्रपूर्ण रूपमा आफ्ना कुरा र सुझावहरू राख्नुभयो। बाहिर बालेन्द्र शाहले कसैको कुरा सुन्दैनन् भन्ने जुन एउटा वातावरण थियो, त्यो भेटेपछि फरक पाइयो। उहाँले घण्टौँसम्म जनप्रतिनिधि र सांसदका कुरा सुन्नुभयो। उहाँले भन्नुभयो– हामी सबैभन्दा पहिला कमसेकम एक वर्ष सुशासनमा केन्द्रित हुनुपर्छ र बजेट वितरणमा कुनै विभेद नगरी आवश्यकता र प्राथमिकताको आधारमा योजना लैजान्छौँ।’

पूर्वप्रहरीसमेत रहेका ढकालले झापा ४ का लागि कृषि, राहत र दीर्घकालीन विकासका १३ बुँदे सुझाव प्रधानमन्त्रीलाई बुझाएको समेत जानकारी दिए।

सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रातारात पक्राउ गरेको विषयमा ढकालले यसलाई समयको माग भएको बताए। 

उनले यसलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने तर्क गर्दै भने, ‘यो आवश्यकता र बाध्यताको उपज हो। हामीले धेरै बालबालिकाहरू गुमाएर, जेनजी आन्दोलनको परिणाम स्वरूप यो विशेष परिस्थिति प्राप्त गरेका हौँ। जसका निम्ति हाम्रो पुस्ता लड्नुपर्थ्यो, ती सन्तानका निम्ति सुशासनको जग बसाल्नुपर्ने थियो। अब पनि दण्डहीनताबाट मुलुक चल्छ भनेर परिकल्पना गर्ने र त्यस्तै व्यवहार गर्ने छुट अबको सरकार र सत्तालाई छैन। तथ्यका आधारमा न्याय निरूपण होला, तर यसलाई कसैले प्रतिशोध भन्छ भने भनोस्, यो त मुलुकका लागि जरुरी र आकस्मिक कदम हो।’

सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीप्रति सकारात्मक रहेका ढकालले विशेषगरी बुँदा नम्बर ७३ मा रहेको ‘योग, ध्यान र प्राकृतिक चिकित्सा’लाई नेपालको समृद्धिको मुख्य आधार मानेका छन्। 

आफ्नो चुनावी वाचापत्रमा पनि यो विषय समेटेको बताउँदै उनले भने, ‘सरकारको कार्यसूचीको सबैभन्दा मन परेको बुँदा ७३ नम्बर हो। हाम्रो मौलिकता, आध्यात्मिकता, योग ध्यान र प्राकृतिक चिकित्साले नै हामीलाई विश्वमा चिनाउँछ। हामी गुरु देशका नेपाली हौँ। योग र ध्यानबाट आत्मिक, सामाजिक र आर्थिक समृद्धि हासिल हुन सक्छ। संसार डिप्रेसनको सिकार भइरहँदा हामीले योग र पर्यटनलाई जोड्न सक्यौँ भने यो नेपालको ठूलो पहिचान बन्नेछ। प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यो बुँदालाई कसरी शिक्षा नीति र औपचारिक प्रणालीमा ल्याउन सकिन्छ भनेर छलफल गरेको छु।’

०७९ को निर्वाचनमा झापा ४ बाट पराजित भएका ढकालले विगतको पराजय र वर्तमानको जितलाई जनताको विश्वासको कसीमा दाँजेका छन्। ०७९ मा एमालेका एलपी साँवासँग पराजित भएका उनले यसपटक उनैलाई हराएर संसदको यात्रा तय गरेका हुन्। उनले आफ्नो जितलाई जनताले दिएको चार वर्षको गृहकार्यपछिको अवसरका रूपमा लिएको बताए।

रास्वपा झापाका सचिव समेत रहेका सांसद ढकालले सांसदहरूलाई स्वकीय सचिव र आवश्यक स्रोतसाधनको व्यवस्था हुनुपर्ने माग समेत उठेको र यसले सांसदलाई कानुन निर्माणमा थप परिपक्व बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले थप के–के भने, हेर्नुहोस् भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओ: सरोज नेपाल
 

चैत १७, २०८२ मंगलबार २१:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad