कारोबार


नक्कली अनुभव देखाएर राष्ट्रिय प्रसारण ग्रिडमा जागिर, अख्तियारले हाल्यो मुद्दा

नक्कली अनुभव देखाएर राष्ट्रिय प्रसारण ग्रिडमा जागिर, अख्तियारले हाल्यो मुद्दा

नेपालखबर
चैत १७, २०८२ मंगलबार १६:५८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कर्मचारी राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

पोख्रेलले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको कम्पनी सचिव पद (सातौँ तह)मा नियुक्तिका लागि अनुभवको नक्कली कागजात पेस गरेको पाइएपछि अख्तियारले मुद्दा चलाएको हो। 

उनले गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडको वरिष्ठ अधिकृत तहमा कम्पनीको सामान्य प्रशासन एवं आर्थिक प्रशासन शाखामा २०७० असोज ७ देखि २०७३ मंसिर ३० गतेसम्म काम गरेको अनुभवपत्र २०७३ पुस ४ गते बनाएका थिए। तर गर्जाङ हाइड्रोले गत मंसिर २२ गते र पुस ४ गते पत्र पठाउँदै पोख्रेल उक्त कम्पनीमा कार्यरत नभएको र कम्पनीबाट जारी भएको अनुभवपत्रको मिति र चलानी नम्बर कार्यालयमा कुनै रेकर्ड नभएको जानकारी अख्तियारलाई दिएको थियो। 

२०७३ फागुन ४ मा उनले राष्ट्रि प्रसारण ग्रिड कम्पनीमा कम्पनी सचिव पदका लागि आवेदन दिँदा सोही नक्कली पत्र पेस गरेको पाइएको छ। त्यही पत्रको आधारमा उनले ०७३ फागुन १० मा सेवा करारमा सातौँ तहको कम्पनी सचिव पद हासिल गरेको तथा २०७४ जेठ २२ मा उनको नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको देखिएको अख्तियारले जनाएको छ। उनले झूठा विवरणको आधार देखाई ०७३ फागुन १० देखि ०८२ पुस २० सम्म कम्पनीको कम्पनी सचिव पद हैसियतमा सेवा करारमा बहाल रही १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ लगायत लाभ सुविधा लिएको पुष्टि भएको अख्तियारको आरोप छ। उनीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad