प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पदभार ग्रहणलगत्तै सार्वजनिक गरेको 'शासकीय सुधारका १०० कार्यसूची' लाई भ्रष्टाचारविरुद्धको क्षेत्रमा क्रियाशील संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वागत गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै टीआई नेपालले सरकारको यो कदमलाई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि एक 'प्रशंसनीय सुरुवात' भनेको छ।
'जनादेशको भावना अनुसारको सूची' टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा नवगठित सरकारले पारित गरेको कार्यसूची जनमतको भावना र मागअनुरूप रहेको उल्लेख छ। 'धेरै वर्षदेखि उठाइँदै आएका सुशासनका गम्भीर विषयहरू यस कार्यसूचीमा अधिकांश रूपमा समावेश भएका छन्, जुन सकारात्मक छ,' विज्ञप्तिमा भनिएको छ।
बालेन शाह नेतृत्वको सरकारले आफ्नो पहिलो बैठकबाटै देशलाई सुशासनको बाटोमा डोर्याउन समयसीमासहितको बृहत् कार्यसूची ल्याउनुलाई टीआईले जनताको हितप्रतिको बलियो प्रतिबद्धताका रूपमा व्याख्या गरेको छ।
कार्यान्वयनमा भरोसा र सहकार्यको हात विज्ञप्तिमा कार्यसूचीका कतिपय बुँदाहरूको कार्यान्वयन तत्कालै सुरु भइसकेको प्रति सन्तोष व्यक्त गरिएको छ। टीआई नेपालले भनेको छ, 'बृहत् कार्यसूचीमा उल्लेखित कार्यहरूको कार्यान्वयन सुरु भइसक्नु सह्रानीय छ। तोकिएको समयसीमाभित्रै यी सबै कार्यहरू सम्पन्न हुनेछन् भन्नेमा हामीले आशा र विश्वास लिएका छौं।'
सुशासन प्रवर्द्धन गर्ने सरकारको यो महाअभियानमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको पनि अध्यक्ष शर्माले बताएका छन्। सरकारले अघि सारेको डिजिटल गभर्नेन्स, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधारका एजेन्डाहरूलाई भ्रस्टाचार विरोधी अन्तर्ष्ट्रिय संसथाको समर्थन प्राप्त हुनुलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया